१३ आश्विन २०८१, आइतबार
लुम्बिनी प्रदेशकाे बाढी पहिरो

लुम्बिनी प्रदेशमा तीन दिनः विपद्का २९ घटना

प्रकाशित मिति :  29 September, 2024 4:37 pm


दाङ । लुम्बिनी प्रदेशमा पछिल्लो तीन दिनमा विपद्का २९ वटा घटना घटेका छन् । पहिरो, अधिक बर्षा, डुबान लगायतका २९ वटा घटना घटेको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । असोज ११ गते देखी १३ गते सम्म एक जनाको मृत्यु भएको छ ।

बाँकेमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने घाईते ३ जना भएका छन् । गुल्मिमा दुई जना र बाँकेमा एक जना घाईते भएको र नवलपरासी वर्दघाट सुस्ताका एक जना वेपत्ता भएको मन्त्रालयले जनाएको छ । बाढी, पहिरोमा परेर १७ वटा घर पूर्णरुपमा क्षती भएको छ भने एक सय ६१ वटा घरमा आंशिक क्षति भएको छ । एउटा सरकारी भवन पूर्णक्षति भएको छ भने ३ वटा भवनमा आंशिक क्षति भएको छ ।

घरहरूमा क्षति हुँदा ९० लाख ९० हजार क्षती भएको प्रारम्भिक विवरण संकलन भएको छ । यसका साथै बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।

बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।उनका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयमसेवक तथा आम सर्वसाधारण नागरिकहरूमा अपिल गरेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिकबिचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।



प्रतिक्रिया दिनुहोस !