१३ आश्विन २०८१, आइतबार

विपद्बाट प्रभावित भएकाहरूको तत्काल उद्धार गरी व्यवस्थापन गर्न सर्वदलीय बैठकको जोड

प्रकाशित मिति :  29 September, 2024 5:27 pm


काठमाडाैँ । सरकारले बाढी पहिरोमा परी प्रभावित र घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उचित व्यवस्थापन गर्नेमा जोड दिने बताएको छ ।

आइतवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा बसेको सर्वदलीय बैठकले सबै राजनीतिक दलहरू एक भएर उद्धार र राहत कार्यमा जुट्ने प्रतिवद्धता जनाएको हो ।

बैठकले अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाएका सम्पूर्णजनमा हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । सम्पूर्ण घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्षाका कारण गएको पहिरो र बाढिले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरुलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पु¥याउने निर्णय गरेको बताए ।

देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरुमा रोकावट आई आवागमन अवरुद्ध भएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सूचारु गर्ने, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाईन र विद्युत गृहहरुको मर्मतसम्भार गरी विद्युत आपूर्ती र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथासक्य छिटो सुचारु गर्ने,बाढी र पहिरोको कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत संभार गरी खानेपानी आपूर्ती गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने निर्णय भएको बताए ।

उनले सर्वपक्षीय बैठकले मौसममा क्रमिक सुधार आईरहेको भएपनि विनाशकारी बाढीका कारण सिर्जित विषम परिस्थितीमा जनस्वास्थ्यको सवाल अहं हुने भएकोले विपद् पछिको महामारीको संभावनालाई न्युनिरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक विधी प्रयोग गरी प्रभावित क्षेत्रमा औषधि उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने निर्णय भएको बताए ।

विपद्को चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दशैँ, तिहार, छठ जस्ता पर्वहरुलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्याँस लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलै सँग प्राप्त गर्नसक्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्यचौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपंक्षी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरि पुनर्निर्माणको लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय भएको बताए ।

सर्वदलीय बैठकले बाढी,पहिरोबाट घरवास गुमाएका पिडितहरुका पुनःस्थापनाका लागि राष्ट्रिय जोखिम न्युनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको प्रवन्ध गर्न आवश्यक प्रकृया अगाडी बढाउने र सबै राजनीतिक दलहरु, तीनै तहको सरकार र निजी क्षेत्र समेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार,राहत र पुनर्स्थापनाको काम गर्ने एवं प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजी क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने निर्णय  गरेको छ ।



प्रतिक्रिया दिनुहोस !