१३ आश्विन २०८१, आइतबार

अविरल वर्षाले देशभर मालवाहक यातायात सेवा ठप्प, राजमार्गहरू क्षतिग्रस्त

प्रकाशित मिति :  29 September, 2024 5:45 pm


काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले लगातार तीन दिनदेखि देशभर परेको अविरल वर्षाका कारण राष्ट्रिय तथा सहायक राजमार्गहरू क्षतिग्रस्त हुँदा मालवाहक यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिएको छ। महासंघका महासचिव राजेन्द्र विक्रम वानियाद्वारा जारी प्रेस विज्ञप्तिमा देशभरको मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण ठप्प हुँदा यातायात सेवा सुचारु हुन नसकेको उल्लेख गरिएको छ।

महासंघले सम्पूर्ण सदस्य संस्थाहरूलाई गन्तव्य स्थानको मार्गको अवस्थाबारे जानकारी लिएर मात्र सवारी साधन सञ्चालन गर्न आग्रह गरेको छ। वर्षाले देशभर सञ्चालित मालवाहक सवारी साधनमा क्षति पुर्‍याएको र आपूर्ति व्यवस्थामा समस्या आएको पनि महासंघले जनाएको छ।

यस विपत्तिका कारण देशभर ठूलो मात्रामा धनजनको क्षति भएको छ। थुप्रै व्यक्तिले अकालमा ज्यान गुमाएका छन् भने कैयौं व्यक्ति घाइते भएका छन्। महासंघले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको उपचार र बेपत्ताहरूको खोजीका लागि नेपाल सरकारसँग अपिल गरिएको छ।

विजयदशमीको पूर्वसन्ध्यामा भएको यो क्षतिप्रति दुःख प्रकट गर्दै महासंघले अवरुद्ध सडकहरूको तत्काल मर्मत गरी यातायात सेवा पूर्ववत् रूपमा सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !