१४ आश्विन २०८१, सोमबार

विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी

प्रकाशित मिति :  30 September, 2024 4:49 pm


काठमाडाैँ । सरकारले मनसुनजन्य विपद्मा परेका २५८ नागरिकको हवाई उद्धारमार्फत उद्धार गरेको जनाएको छ ।

सोमवार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले सो जानकारी दिएका हुन् । केन्द्रिय सुरक्षा समितिको बैठकमा  अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रुपमा छलफल भएको छ ।

आज काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भइरहेको प्रवक्ता तिवारीले बताउनु भयो । उहाँकाअनुसार समितिले रोशी खोलामा (विपी राजमार्ग)मा अलपत्र परेका सबै घाइते, बिरामी यात्रुहरुलाई आजसम्म धुलिखेल ल्याइसक्ने गरी काम भएको छ । उनले अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रुपमा अघि बढ्ने निर्णय समितिले गरेको बताए ।

उनले आवागमन सहज बनाउन आजदेखि पृथ्वी राजमार्गमा काठमाडौंतर्फबाट पनि यातायात पठाउने काम सुरू भइसकेको बताए ।उनले अन्य राजमार्गहरू पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको जानकारी गराए । विपी राजमार्गको नेपालथोक खण्ड धेरै नै बिग्रिएकाले नेपालथोकदेखि बर्दिवाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुण्डेसम्मको खण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आँकलन गरिएको बताए ।

उनले भकुण्डेबेसीदेखि नेपालथोक खण्डलाई सकेसम्म छिटो सञ्चालन गर्नेगरी समन्वयात्मक रुपमा प्रयासहरु गरिरहेको बताए । बनेपा—सिन्धुली खण्डमा यात्रा गर्नेहरु अलपत्र परेका, बिरामी र अशक्त यात्रुहरूको चिकित्सकको टोली पठाएर सडकमै स्वास्थ्य परीक्षण भइरहेको र खाद्यान्न पनि वितरण गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !