१५ आश्विन २०८१, मंगलबार

विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी

प्रकाशित मिति :  1 October, 2024 6:06 am


काठमाडौँ। सरकारले मनसुनजन्य विपद्मा परेका २५८ नागरिकको हवाई उद्धारमार्फत उद्धार गरेको जनाएको छ ।

सोमवार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले सो जानकारी दिएका हुन्।

केन्द्रिय सुरक्षा समितिको बैठकमा अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रुपमा छलफल भएको छ ।

सोमवार पनि काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भएको जानकारी गराउँदै प्रवक्ता तिवारीले रोशी खोलामा (विपी राजमार्ग)मा अलपत्र परेका सबै घाइते, बिरामी यात्रुहरुलाई धुलिखेल ल्याइसक्ने बताए।

अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रुपमा अघि बढ्ने निर्णय समितिले गरेको र आवागमन सहज बनाउन आजदेखि पृथ्वी राजमार्गमा काठमाडौंतर्फबाट पनि यातायात पठाउने काम शुरु भइसकेको जानकारी उनले गराए।

अन्य राजमार्गहरु पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको जनाइएको छ।

विपी राजमार्गको नेपालथोक खण्ड धेरै नै बिग्रिएकाले नेपालथोकदेखि बर्दिवाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुण्डेसम्मको खण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आँकलन गरिएको तिवारीले बताए।

बनेपा—सिन्धुली खण्डमा यात्रा गर्नेहरु अलपत्र परेका, बिरामी र अशक्त यात्रुहरुको चिकित्सकको टोली पठाएर सडकमै स्वास्थ्य परीक्षण भइरहेको र खाद्यान्न पनि वितरण गरिएको उनले जनाए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !