१५ आश्विन २०८१, मंगलबार

पर्यटनमन्त्रीको दाबीः नीतिगत रुपान्तरणमा इतिहासमै कुनै मन्त्रीले नगरेको काम गरेको छु

प्रकाशित मिति :  1 October, 2024 12:24 pm


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नीतिगत रुपान्तरणमा इतिहासमै कुनैपनि मन्त्रीले नगरेको काम गरेको दाबी गरेका छन् ।

मंगलवार मन्त्रालयमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उहाँले यस्तो दाबी गरेका हुन् । उनले इतिहासमै अर्को कुनै मन्त्रीले नगरेको प्रयास आफूले गरेको भन्दै अहिले नीतिगत रुपान्तरणमा निकै ठूलो प्रयास भइरहेको बताए ।

उनले आउने हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयबाट जाने ऐनहरुको लाइन लाग्ने जिकिर गरे । उनले संस्कृति नीति तयार भइरहेको, पर्यटन नीति, समसामयिक नीति तयार भइरहेको बताए । हवाई नीति, नयामक निकाय र सेवा प्रदायक निकायको विधेयक पनि अघि बढाइने जानकारी दिए ।

उनले आन्तरिक उडानमा दुर्घटनामा पर्ने र अन्तर्राष्ट्रियमा दुर्घटनालाई लिएर समायोजन, एकरुपता र न्यायोचित बनाउने गरी बिमा सम्बन्धी ऐन ड्राफ्ट गरिरहेको बताए । उनले पर्यटन ऐन, लुम्बिनी विकास कोषको ऐन र पशुपति क्षेत्र विकास कोषको ऐनमा समसामयिक परिवर्तनसहित तयार गरिरहेको बताए । मन्त्री पाण्डेले ठूलो नीतिगत र कानूनी रुपान्तरणका लागि प्रयास भइरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !