१५ आश्विन २०८१, मंगलबार

नख्खुखोला बाढी पीडितको गुनासोः सरकार भएको आभाष नै भएन

प्रकाशित मिति :  1 October, 2024 4:20 pm


काठमाडाैँ । ललितपुरस्थित नख्खुखोलामा आएको भीषण बाढीबाट प्रभावित पीडितहरू जीवन गुजाराको पीडाले छटपटाएका छन् ।

खोला छेउमा भाडामा अस्थायी टहरा बनाई विभिन्न पेशा गर्दै आएका उनीहरूको लाखौँको धनमाल बाढीले बगाएपछि अब कसरी जिउने भन्ने चिन्ताले छटपटाएका हुन् । उनीहरूले आफूहरूकाे पीडामा साथ दिने काम सरकारले नगरेकोमा आक्रोश व्यक्त गरे । ललितपुर महानगरपालिका भित्र पर्ने सो क्षेत्रमा महानगरपालिकाले समेत कुनै वास्ता नगरेको गुनासो उनीहरूको छ ।

आफन्त कहाँ गाँस र बासको सहारा लिन बाध्य भएका उनीहरुले तत्काल अस्थायी आवास र खानालगायतका राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । अस्थायी टहरा भित्र कुखुरा पालन गर्दै आएका एक पीडितले आफ्नो करिव २०\२५ लाख बराबरको क्षति हुँदा पनि सरकारले कुनै वास्ता नगरेको गुनासो गरे । उनले तत्काल आफूहरुलाई क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

बाढीले घरवास उठाएपछि आफूहरू अर्काको घरमा शरण लिएर बस्न बाध्य भएको एक वृद्धले बताए । उनले सरकारले यस्तो विपद्मा पनि कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरे । बाढीले लगाउने कपडा र भाँडाकुँडा सबै बगाएको विलौना अर्की पीडितको छ । उनले बालबच्चालाई राख्नका लागि भाडाको कोठा समेत नपाएको गुनासो गरिन् । सरकारले तत्काल आवासको व्यवस्था गरिदिए हुने उनको भनाई थियो ।  “स्थानीय सबै भाडाँकुडाहरु बगाएर लग्यो । कपडा, फ्रिज पनि बगाएर लग्यो। अहिले साथीकोमा बसेका छौं । कोठा पनि पाएको छैन । तत्काल आवासको व्यवस्था गरिदिए हुन्थ्यो,” उनले भनिन्

ललितपुरमा अविरल वर्षासँगै नख्खु खोलामा भिषण बाढीले खोला किनारामा अस्थायी टहरा बनाएर ग्रिल व्यवसाय, होटल व्यवसाय, बुंगुर पालन, कुखुरा पालन लगायतका पेशा गर्दै आएकाहरुको उठिबास भएको छ । बाढीले बगाएर २ जनाको भने ज्यान गएको छ । यता, स्थानीय सरकार र संघीय सरकारले पनि हालसम्म पनि कुनै सहायता नदिएको भन्दै आक्रोशित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !