१५ आश्विन २०८१, मंगलबार

सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छः गृहमन्त्री लेखक

प्रकाशित मिति :  1 October, 2024 4:49 pm


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताएका छन् । त्यसपछि राहत वितरण, घाइतेहरुको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरू सुचारु गर्नका लागि सरकार क्रियाशिल भइरहेको उनले बताए ।

उनले विभिन्न सडक मार्गमा अलपत्र परेका यात्रुहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी गराए। बिरामीहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको उनले बताए। त्यस्तै सडक सञ्जाल मर्मतको कामपनि सबै अवरुद्ध भएका ठाउँहरुमा चलिरहेको उनले उल्लेख गरे।

गृहमन्त्री लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरूलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भएपनि सम्भव नभएको प्रष्ट्याए । नख्खु बाढीमा टिनको छानामाथि बसेर गुहार मागिरहेका नागरिकहरूलाई समयमै उद्धार गर्न नसक्दा उनीहरू बगेका थिए । सो कुराको सांसदहरूले आलोचना गरेसँगै उनले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको भएपनि प्रतिकुल मौसमका कारण उद्धार सम्भव नभएको बताए ।

गृहमन्त्री लेखकले विपद्मा परी हालसम्म २१८ जनाको मृत्यु भएको जानकारी गराए । त्यसैगरी १४३ जना घाइते र २७ जना बेपत्ता भएको उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्वयंसेवकहरूले ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !