१५ आश्विन २०८१, मंगलबार

खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग

प्रकाशित मिति :  1 October, 2024 5:33 pm


काठमाडाैँ । नेपाली काँग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ ।

मंगलवार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।उनले नेपाली काँग्रेस संसदीय दलको बैठकले गत अविरल वर्षाको कारण गएको बाढी, पहिरोमा परेर ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेको बताए ।

उनले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजि गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताए । उनले अहिले पनि मानिसहरू उद्धारको प्रतिक्षा गरिरहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको बताए । उनले प्राकृतिक प्रकोपको कारणबाट विपी राजमार्ग,सडक,पुलहरू भत्किएको भन्दै खोजि, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको बताए ।

उनले दशैँ—तिहार जस्ता चाडपर्वहरू नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको बताए ।उनले बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरु खानेपानी,विद्यालय,विद्युत लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको बताए । उनले विपद्मा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरे ।उनले हवाई र सवारी साधनको भाडादरलाई सरकारले नियन्त्रण गरी साविककै भाडादरलाई कायम गरी यात्रा गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !