कवि दीप दर्पणको कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन
काठमाडौँ। कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचित भएको छ । मंगलवार काठमाडौँमा एक कार्यक्रमकाबिच ५२ वटा कविता समेटिएको कविता संग्रह सार्वजनिक गरिएको हो ।
कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन्।
कविता संग्रहमा निम्न मध्यम वर्गीय नेपालीले भोगेका यथार्थपरक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए ।
समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरुमध्ये दीप दर्पणको कविता संग्रह पनि परको बताए । उनले कविताले चित्रण गरेको विषयको गहिराईले पाठकको मन जित्ने बताए ।
कवि ज्योती जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताइन्।
रोल्पा स्थायी घर भएका दीप सानैदेखि कविता लेखनमा रुची राख्दथे । साहित्यमा विशेष रुची रहेका उनले फुटकर कविताहरु संचारमाध्यममार्फ्त पाठकसामु ल्याइरहने गरे पनि संग्रह नै ल्याएको भने पहिलो पटक हो ।
पहिलो संग्रहले आफूलाई उत्साहित बनाएको बताउँदै यस बाट आउने प्रतिक्रिया र सल्लाह सुझाव अनुसार दोस्रो संग्रह पनि ल्याउने बताए ।
कार्यक्रममा कवि रिमा केसी, महेश छितिज, सुरज राणा र राधिका अधिकारीले कविता संग्रहबाट छानिएका कविता वाचन गरेका थिए।
कार्यक्रम संचालन कवि प्रज्वल अधिकारीले गरेका थिए। प्रकाशक सांग्रिला बुक्स रहेको छ ।