१८ आश्विन २०८१, शुक्रबार

महिला यु–१९ टि–ट्वान्टी विश्वकप एसिया छनौट खेलका लागि खेलाडी छनौट

प्रकाशित मिति :  4 October, 2024 7:39 am


काठमाडौँ । महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडी छनोट गरेको छ । आगामी कार्तिक २१ गतेदेखि संयुक्त अरब इमिरेट्समा आयोजन हुने छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो ।

छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन् ।त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्णा विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामी मगर रहेका छन् ।

छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स (युएई), कुवेत र थाइल्याण्ड छन् । विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कार्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले दोस्रो खेल कार्तिक २२ गते कुवेतसँग खेल्ने छ, भने कार्तिक २४ गते घरेलु टोली युएईसँग खेल्नेछ । नेपालको कार्तिक २५ गते थाइल्याण्डसँग खेल्ने छ, भने कार्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा कार्तिक २८ मा युएईसँग खेल्नेछ ।

चार टोली सहभागी रहने उक्त छनोटमा शीर्षस्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछ ।



प्रतिक्रिया दिनुहोस !