‘दशैँमा काठमाडौँमा खसी-च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ’
काठमाडाैँ । नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैँ लागेसँगै काठमाडौंका बजारहरुमा व्यापार व्यवसायको चहलपहल तिब्र छ । दशैँमा नयाँ नयाँ कपडा, दशैँका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडा लगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरु किनमेल गर्नेहरुको भीड बजारमा देख्न सकिन्छ ।
विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिएपनि दशैँको लागि तयारी तिब्र छ । शहरहरुबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरु स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ । त्यसैले पनि बजार चलायमान बन्दै गएको छ ।
विपद्का कारण दशैँमा खसी, बोकाहरु कमी हुने हो की भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ । तर कलंकी खसी बजार व्यवस्थापन समिति भने काठमाडौं उपत्यकामा विगत झैँ यस वर्ष पनि मासुको कमी हुन नदिने र आपूर्ति पु¥याउने बताउँछ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले समिति बनाइ खसी विक्री वितरण गरेको ३१ वर्षसम्म काठमाडौं उपत्यकाको माग पूरा गरिरहेको र यस वर्ष पनि आपूर्ति पूरा गर्ने बताए ।
उनले यस वर्ष विपद्का कारण सडकहरुको अवस्था केही कठिन भएपनि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरु ल्याउने काम भइरहेको उल्लेख गरे । काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५/४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको बताए ।
विपी राजमार्गको अवरोधका कारण पूर्वी जिल्लाहरु र रामेछाप लगायतका जिल्लाहरुबाट भने खसी, बोका ल्याउन कठिनाइ हुने उल्लेख गरे । मूल्य पनि पोहोरकै आसपासमा खरिदविक्री हुने अनुमान रहेको र अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७४० सम्म र च्याङ्ग्राको १३ सयसम्म रहेको उनले बताए ।
रसुवा र तातोपानी नाका नखुलेसँगै च्याङ्ग्रा मुस्ताङबाट मात्रै ल्याउनुपरेकाले केही महंगो हुने उनकाे भनाइ छ। विगतमा दशैँलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसीबोका विक्री हुने गरेको र यस वर्ष पनि सोही आसपासमा विक्री हुने अनुमान गरेको बताए ।
उनले गत वर्ष खसी बजारबाट २५ हजार खसी, बोका, च्याङ्ग्रा, भेडा विक्री गरेको बताए । अहिले खसी,बोकाको माग काठमाडौंमा घटिरहेकाले त्यसको असर व्यापारमा परेको उल्लेख गरे । उत्पादन बढ्ने तर माग घट्नुले केही समस्या आएको उनकाे भनाइ छ ।
खसी व्यापारी सन्तोष राईले आफूहरुले मुस्ताङको च्याङ्ग्रा बाटो बिग्रिएका कारण बेणीबाट ११ दिन लगाएर काठमाडौं ल्याएको बताए । उनले च्याङ्ग्रा जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेको बताउनु भयो । उहाँले खसी ६ सयदेखि ७२० सम्म र बोका ६५० देखि ७ सयसम्म छ विक्री गरिरहेको बताए ।
उनले च्याङ्ग्रा वर्षमा एकपटक आउने भएकाले अलि पर्न गएको उल्लेख गरे ।