१० मंसिर २०८१, सोमबार

नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस, दैनिक तीन सयलाई खाना खुवाउँछन्

प्रकाशित मिति :  4 October, 2024 3:52 pm


काठमाडाैँ । असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौँ उपत्यकासहित देशभरका नागरिकहरूको जनजीवन अस्तव्यस्त छ । कतिपयको बासस्थान नै बगाएको\डुबानमा परेको छ । जसरकारण पनि आम नागरिकहरुको जनजीवन प्रभावित छ ।

काठमाडौँ उपत्यकामा वागमती, हनुमन्ते खोला, ललितपुरको नख्खु खोलाले बगाएर धेरै मानिसहरूको ज्यान गएको छ । नख्खु खोलाले घरवास बगाएर पीडित नागरिकहरू अहिले पनि खान र बस्नका लागि भौँतारिरहेका छन् । गाँसवासको टुंगो नहुँदा स्थानीहरु मिलेर उनीहरुलाई खान र बस्नको व्यवस्था गरिरहेका छन् । गत आइतवारदेखि ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित नख्खु खोला आसपासका पीडितहरूलाई स्थानीहरू मिलेर दुई छाक नै खाना खुवाइरहेको २५ नम्बर वडाका वडाध्यक्ष दौलतकुमार खत्री बताउँछन् ।

उनले सहयोगी दाताहरूले एकद्वारा प्रणालीबाट वडामा आइ सहयोग गरिरहेकाे र सोही सहयोगबाट पीडितहरूलाई खाने र बस्ने स्थानको व्यवस्था गरिएको बताए । उनले २५ नम्बर वडामा २५० जनाको गाँसवास बाढीका कारण खोसिएको बताए । उनले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले पनि समन्वयपूर्ण काम गरे सहज हुने विश्वास व्यक्त गरे। बाढीले घरहरू बगाएसँगै सरकारले दिएको राहत राख्ने ठाउँ नै नभएपछि पनि समस्याहरू सिर्जना भइरहेको बताए ।

ललितपुर महानगरपालिका २५ नम्बर वडाकी महिला सदस्य सपना ठकुरीले स्थानीयहरू मिलेर पीडितलाई खाना खुवाइरहेको बताइन् । उनले दैनिक तीन सय जति मानिसहरुलाई खाना खुवाएको बताइन् । पीडितलाई खाना खुवाउन विभिन्न संस्थाहरूले सहयोग गरेको र बस्नका लागि सरकारी भवन, बालकुमारी मन्दिर लगायतमा राख्ने गरिएको बताइन्।

नेपाली काँग्रेस ललितपुर महानगरपालिका वडा नम्बर २५ का सभापति रविचन्द्र ठकुरीले महानगरपालिकाले पीडितको राहत र उद्धारमा राम्रो काम गरिरहेको बताए ।उनले अहिले पनि बिस्थापितहरुलाई बस्न र खानको व्यवस्था स्थानीय मिलेर गरेको बताए ।

गत असोज १२ र १३ गतेको अविरल वर्षाका कारण देशभर नै ठूलो जनधनको क्षति भएको छ । हजारौँ मानिसहरू बिस्थापित भएका छन् । अझै पनि मनसुन सफा भइसकेको छैन । त्यसैले विज्ञहरूले शतर्कता अपनाउन सुझाव दिइरहेका छन् । साथै चिकित्सकहरूले विपद्पछि स्वास्थ्यमा पनि ठूलो समस्या आउनसक्ने भन्दै पानी सफा खान र तताएर मात्रै प्रयोग गर्न आग्रह गरेका छन् । सरकारले पनि आवश्यक सावधानी अपनाएर यात्रा गर्न, स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !