१८ आश्विन २०८१, शुक्रबार

काभ्रेका बाढी प्रभावित तीन स्थानीय तहलाई काठमाडौँ महानगरको २०/२० लाख सहयोग

प्रकाशित मिति :  4 October, 2024 4:50 pm


काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित तीनवटा स्थानीय तहलाई राहत तथा पुनःस्थापनाका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले पनौती नगरपालिका, रोशी गाउँपालिका, र वेथानचोक गाउँपालिकालाई अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

महानगर विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाका अनुसार, पालिकाहरूबाट सहयोगको माग भएपछि छलफल गरेर सो निर्णय गरिएको हो। “विपद् व्यवस्थापन कोषबाट बाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहलाई सहयोग उपलब्ध गराइएको हो,” थापाले बताए।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले काभ्रेका यी पालिकाहरूमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। पनौती नगरक्षेत्रमा मात्र २० जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घर पूर्णरूपमा र ७१३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। रोशी गाउँपालिकामा १२ जनाको निधन, ५ सय घर पूर्ण रूपमा ध्वस्त, र १ हजार ५ सय घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै, वेथानचोक गाउँपालिकामा १२ जनाको मृत्यु हुनुका साथै ९७० घरमा क्षति पुगेको छ।

बाढी र पहिरोका कारण सडक, खानेपानीका ट्यांकी, पाइपलाइन, सञ्चार र विद्युत सेवामा पनि अवरोध भएको छ। साथै, बाढीले हजारौं पशुधन बगाएको छ, जसमा गाई, भैंसी, खसी बोका, र कुखुरा समेत छन्।

महानगरपालिकाले यस मानवीय संकटमा परेका पालिकाहरूलाई सहयोग उपलब्ध गराउँदै पुनःस्थापनाका लागि विशेष पहल गरेको हो।



प्रतिक्रिया दिनुहोस !