१९ आश्विन २०८१, शनिबार
सडक खाना महोत्सवको उद्घाटन

पर्यटनमैत्री वातावरण निर्माण गर्छौं–मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  5 October, 2024 5:09 pm


भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटनमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारले सबै प्रकारको भूमिका निर्वाह गर्ने बताएका छन् ।

सिद्धार्थ होटल एशोसियशनको आयोजनामा भैरहवामा सुरु भएको सडक खाना महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटनमैत्री वातावरण बनाउन नीजि क्षेत्र संग सहकार्य गर्ने बताएका हुन् । “लुम्बिनीको समृद्धिको आधार कृषि, पर्यटन र औद्योगीक क्षेत्रलाई मानेका छौं । सोही आधारमा लुम्बिनीको विकासका लागि पर्यटनमैत्री वातावरण बनाउने जिम्मेवारी तपाई हामी सबैको हो”, उनले भने, “स्वेदशी तथा विदेशी पर्यटकलाई लुम्बिनीमा भित्र्याउन सबैले पहल गरौं । त्यसका लागि सरकार सहकार्य गर्न तयार छ ।” पर्यटनमैत्री वातावरण निर्माणका लागि सरकारले आफ्नो भूमिका बढाइसकेको जानकारी दिए ।

भारतीय पर्यटकहरुलाई सहज आवागमनको लागि नेपाल–भारत सिमा क्षेत्रमा एकीकृत जाँचको व्यवस्था मिलाउनेगरी काम अघि बढेको स्पष्ट पारे । “भारतीय पर्यटक नेपाल आउन थाल्नु भएको छ । तर, उहाँहरुलाई सुरक्षा जाँचको नाममा अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि मैले यस बारेमा सुरक्षा समितिको बैठकमा विशेष कुरा उठाएँ । अब एकीकृत जाँच गरेर सहज वातावरण मिलाउनेगरी काम अघि बढेको छ”, उनले भने, “रुपन्देही जिल्लामा सुरु भएको यस प्रकारको कामलाई बाँकी जिल्लाहरुको सिमानामा पनि सुरु हुन्छ । प्रदेशले कर्मचारी खटाउँछ ।”

यस्तै मुख्यमन्त्री आचार्यले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइ उडान सुरु गर्ने सम्बन्धमा उच्च स्तरीय पहल भएको र त्यसले निकास दिने विश्वास व्यक्त गरे । “यो विमानस्थल चलाउन माथिल्लो स्तरमा पहल भएको छ । सम्माननीय प्रधानमन्त्रीलाई भेटेर गम्भिर रुपमा विमानस्थलको कुरा उठाएका छौं”, उनले भने, “केही समयभित्र सुखद् खबरहरु पाउनेछौं ।”

लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रसँग प्रदेश सरकारले सहकार्य गर्ने स्पष्ट पारे । सडक खाना महोत्सवले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको विश्वास मुख्यमन्त्री आचार्यको छ । लुम्बिनी प्रदेशका १२ जिल्लालाई जोड्ने गरी पर्यटन सर्किट बनाउने र लुम्बिनी आउने पर्यटकलाई धेरै दिन भुल्ने वातावरण निर्माण गर्नेगरी काम अघि बढेको जानकारी दिए । महोत्सव उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलगायतले सम्बोधन गरेका थिए ।

विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ होटल एशोसियशनले सडक खाना महोत्सव २०८१ आयोजना गरेको हो । नेपाली रैथाने खानाको स्वाद स्वदेशी तथा विदेशी पर्यटकलाई चखाउने, नेपाली रैथाने खानालाई ब्राण्डिङ्ग गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । भैरहवाको देवकोटा चोकदेखि हाट बजारसम्म दुई दिनसम्म सडकमै खाने र राष्ट्रिय कलाकारहरुसँग रमाउने गरी कार्यक्रम आयोजना गरिएको छ । महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकार छुटसहित पस्किने व्यवस्था मिलाइएको छ ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघ–संस्थासँग सहकार्य गरी दुई दिनसम्म ‘भैरहवा फुड फेस्टिवल तथा म्यूजिकल नाइट–२०८१’ आयोजना गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गरी सिथिल रहेको पर्यटन क्षेत्रलाई उकास्न महोत्सव फलदायी हुने विश्वास गरिएको छ । महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अधिक मात्रामा आउने अपेक्षा गरिएको छ । थरिथरिका स्तरीय होटलका स्वाद लिन पाउने भएकाले ५० हजार हाराहारी पर्यटक महोत्सवमा रमाउन आउने विश्वास गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !