१९ आश्विन २०८१, शनिबार

लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छ–मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  5 October, 2024 5:19 pm


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् ।

रुपन्देही उद्योग संघको ४६ औं वार्षिक साधारणसभा उद्घान कार्यक्रमलाई शनिबार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने बताए । प्रदेश सरकारले अगाडि बढाएका औद्योगीक क्षेत्रको विकासका लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पारे । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लाहरुमा औद्योगीक क्षेत्र बनाउनेगरी निर्णय गरेको थियो । सो निर्णयहरुको कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने समेत जानकारी गराए ।

उद्योगी, व्यवसायीको उत्साहसँग प्रदेशको समग्र विकासको सम्बन्ध जोडिएको भन्दै मुख्यमन्त्री आचार्यले सरकारले उद्योगीमैत्री नीति अलवम्बन गरेको बताए । “प्रदेश सरकारले राम्रोसँग बुझेको छ । जबसम्म उद्योगी, व्यवसायीहरुले निर्विवाद ढंगले उहाँहरुलाई उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तबसम्म मुलुकको पनि उन्नति हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्नेभनेकै निजी क्षेत्रले हो”, मुख्यमन्त्री आचार्यले भने, “सरकारले लगानीको वातावरण बनाउँछ । लगानी गरेर विकास गर्ने भनेको निजी क्षेत्रले हो ।”

उत्पादनको क्षेत्रमा लगानी बढाउन मुख्यमन्त्री आचार्यले जोड दिए । “हामी परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी छ । स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी छ”, उनले भने, “स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिन्छ । स्थानीय उत्पादनको बजारीकरणका लागि सरकारले सहयोग गर्छ ।”

व्यवसायीहरुलाई पर्ने कानुनी जटिलताको काँठो फुकाउन सरकार तयार रहेको समेत बताए । “प्रदेश सरकारले बनाएका कानुनबाट यहाँहरुलाई काम गर्न गर्ने सन्दर्भमा कुनै समस्या परेको छ, भने त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार छ”, मुख्यमन्त्री आचार्यले भने, “तपाईहरुलाई परेका कानुनी समस्याहरु, ती बाधा अड्चनहरुलाई फुकाउन हामी तयार छौं । त्यस्ता कानुनहरुमा समस्या देखा परेका छन् भने समयमा बँुदागत रुपमा सुझाव राख्न सक्नुहुन्छ ।”

उद्योगी, व्यसायीहरुको सुझावलाई सरकारले सम्वोधन गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे । रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !