२२ आश्विन २०८१, मंगलबार

फूलपातीको दिन नेपाल वायुसेवाकाे न्यारोबडीले भैरहवा विशेष उडान गर्ने

प्रकाशित मिति :  8 October, 2024 8:16 am


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानी) ले फूलपातीको दिन न्यारोबडी जहाजले काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ । निगमले २४ असोजका दिन बाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष उडान गर्न लागेको हो ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त हुँदा स्थल आवागमनमा कठिनाई बढेको छ । नेपालीहरुको महान पर्व वडादशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन, जान सहज होस भनी काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढेपछि यात्रुको सहजताका लागि उडान गर्न अनुमति लिएको हो ।

उक्त उडानका लागि काठमाडौंबाट भैरहवा प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडा तोकिएको छ । सोही जहाजमा भैरहवाबाट काठमाडौंको भाडा ३ हजार ८९० राखिएको छ ।

आरए १७३३ उडान नम्बर रहेको जहाज बिहान ११ बजे काठमाडौंबाट उड्ने भएको छ भने १२ः३० बजे भैरहवाबाट काठमाडौं उड्ने छ ।

यो १५८ सिट क्षमताको उक्त जहाजमा यात्रुले ३० किलोसम्म लगेज नि:शुल्क बोक्ने पाउने भएका छन् । यस उडानका लागि निगमको कार्यालय, वेबसाइट र मोबाइल एपबाट समेत टिकट लिन सकिने निगमा जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !