२२ आश्विन २०८१, मंगलबार

‘बेष्ट बैंक नेपाल’सहित लुम्बिनी विकास बैंकले जित्यो पाँच उपाधि

प्रकाशित मिति :  8 October, 2024 11:32 am


दाङ । लुम्बिनी विकास बैंकले वेष्ट बैंक नेपालसहित पाँच उपाधि जितेको छ । इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोस्रो इमर्जिङ एशिया बैंकीङ अवार्डस् २०२४ को ८ विधामध्ये लुम्बिनी विकास बैंकले पाँचवटा विधामा उपाधि जित्न सफल भएको हो ।

भारतको नयाँ दिल्लीमा आयोजित बैंकीङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको हो ।

अवार्डमा विमस्टेकअन्तर्गतका भारत, नेपाल, श्रीलङ्का, भुटान, म्यानमारलगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । इण्डियन चेम्बर अफ कर्मसले गतवर्षदेखि नै यो अवार्ड वितरण गर्न शुरु गरेको थियो । अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो ।

स्थापनाकालदेखि नै इथिकल बैंकीङ, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शीता बैंकिङ सेवा उपलव्ध गराउँदै अघि बढेकाले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको र यसबाट बैंकको गरिमा र प्रतिष्ठा थप माथि पुगेको लुम्बिनी विकास बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहोराले अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा सञ्चालक, कर्मचारी, ग्राहक र नियमनकारी निकायलगायत सबैको योगदान र सहयोग रहेको जनाएका छन् । ३.५ अर्ब चुक्ता पूँजी रहेको राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंकको सातै प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्टेन्सन काउन्टर र २० वटा एटिएम सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकृत बोहोराले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !