२२ आश्विन २०८१, मंगलबार

दाङ प्रहरीलाई ठूलाे सफलता : ठूलो मात्रामा चरेश र अफिम सहित तीन जना पक्राउ

प्रकाशित मिति :  8 October, 2024 6:10 pm


दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका वडानम्वर–१८ मसिनामा ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा गरिएको प्रहरी कारबाहीमा अफिम र चरेशसहित तीनजनालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार पक्राउ पर्नेहरूमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका वडानम्वर–४ निवासी ३७ वर्षिय सुविन्द्र पुन, पुथाउत्तरगंगा गाउँपालिका वडानम्वर बस्ने ५१ वर्षिय चेतन बुढा र रुकुम पूर्व भुमे गाउँपालिका घर भई हाल घोराही उपमहानगरपालिका वडानम्वर–१८ मसिना बस्ने ४२ वर्षिया बिनी पुन रहेका छन् ।

प्रहरी टोलीले पुन र बुढालाई मसिनास्थित सडकमा शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा अफिम बरामद गरेको थियो । उनीहरूलाई सोधपुछ गर्दा लागुऔषध बिनी पुनबाट खरिद गरेको बताएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मार्दा ठूलो परिमाणमा चरेश र अफिम फेला परेको थियो ।

प्रहरीले ३८ किलो ९ सय ७२ ग्राम चरेश, ११ किलो १ सय ८० ग्राम अफिम, लागुऔषध तौल गर्ने डिजिटल तराजु, प्याकिङमा प्रयोग गरिएका प्लाष्टिक र टेप बरामद गरेको छ । तीनै जनालाई पक्राउ गरी दाङ प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिना घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘‘हामीले लागुऔषधको नियन्त्रणका लागि तीब्र ढंगले अनुसन्धान गरिरहेका छौं’’, उनले भने, ‘‘थप अनुसन्धानपछि यसको बारेमा विस्तृत विरणहरु आउने छन् ।’’



प्रतिक्रिया दिनुहोस !