२४ आश्विन २०८१, बिहिबार

कामनपाले गौशाला धर्मशालामा राख्यो महानगरको बोर्ड, मारवाडी समुदायको प्रतिवाद

प्रकाशित मिति :  10 October, 2024 9:02 am


काठमाडौँ। महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ ।

बुधवार महानगरपालिकाका नगरप्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो । मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको छ ।

धर्मशाला बाहिर भने मारवाडीहरुले नाराजुलुस लगाएका थिए । महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो । महानगर प्रहरीले १० बजेसम्म धर्मशाला खालि गराउन माइकिङ गरेपनि नहटाएपछि महानगरप्रहरीले खालि गराएको हो ।

त्यसअघिको पत्रकार सम्मेलनका क्रममा बोल्दै मारवाडी सेवा समिति नेपालका अध्यक्ष रमेश ताडिन्याले महानगरले धर्मशालामा कुनै गतिविधि गर्न नहुनेप्रति सचेत गराए। उनले अदालतमा मुद्दाको पूर्णपाठ नआएको र अहिले अदालत विदामा रहेकाले पूर्ण पाठ आइसकेपछि पुरावेदन गर्न पाउने अधिकार दिनुपर्ने माग गरे।

नगरप्रहरीले धर्मशाला खाली गराउन खोजेपछि मारवाडीहरूसँग केहीबेर प्रतिवाद समेत भएको थियो ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !