२४ आश्विन २०८१, बिहिबार

पैसाको सदुपयोग गर्न सक्नुपर्छः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  10 October, 2024 9:16 am


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन्।

बुधवार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै ओलीले पैसाले उद्यमशिलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताए।

उनले नयाँ ठाउँमा लगानी गर्नसके मात्रै पैसाको सही सदुपयोग हुने चर्चा गर्दै पैसा हुनेले गतिलो काम गर्छन् भन्न नसकिने बताए।

प्रधानमन्त्री ओलीले पैसा कम भएपनि गतिलो काम गर्न सकिने बताए।

उनले भने, “पैसा मात्रै भएर राम्रो काम गरिन्छ भन्ने छैन । पैसा हुने कतिपय मानिस क्यासिनोतिर गएर टाट पल्टिएर फर्किन्छन् । पैसा छ गतिलो काम भइहाल्छ भन्न सकिँदैन । तर पैसा कम भए पनि गतिलो काम गर्न सकिन्छ ।”

कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होलिडे इन रिसोर्ट धेरै नै सुन्दर ठाउँमा बनेको बताए।

होटेलेको यसको प्रचारप्रसार गर्नसके पर्यटकहरु धेरै बढ्ने भनाइ देउवाको छ । उनले होटल होलिडे इन रिसोर्टबाट काठमाडौंका सबै ठाउँ देखिने र रातिको दृश्यावलोकन सुन्दर देखिने भएकाले आकर्षक रहेको बताए।

देउवाले भने, “अत्यन्तै सुन्दर ठाउँमा होलिडे इन रिसोर्ट बनाउनुभएको छ । यसका लागि तपाईंलाई धेरै धेरै धन्यवाद । मलाई विश्वास छ, यसले अवश्य नै अझ बढी प्रचारप्रसार गर्नेछ । यहाँबाट सम्पूर्ण काठमाडौं देखिने भएकाले यसले रातिको दृश्यावलोकन गर्ने राम्रो सुविधान मिल्नेछ ।”

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विविधतापूर्ण प्रकृति र संस्कृतिलाई दुनियाँभर फिँजाउन आवश्यक रहेको बताए।

देशभित्र आन्तरिक पर्यटक बढाउन, देश बाहिरका पर्यटक भित्र्याउन, एक पटक पनि नआएका मानिसहरुलाई एक पटक जाउँ भन्नका लागि र एक पटक आइसकेकोलाई पटक पटक नेपाल जाउँ भन्नका लागि अतिथि देवो भवअनुसारको संस्कारअनुसारको व्यवहार देखाउनुपर्ने उनको भनाइ छ।

मन्त्री पाण्डेले भने, “हामीले यो विविधतापूर्ण प्रकृति र संस्कृतिलाई दुनियाँभर फिँजाउन, देशभित्र आन्तरिक पर्यटक बढाउन, देश बाहिरका पर्यटक भित्र्याउन, एक पटक पनि नआएका मानिसहरुलाई एक पटक जाउँ भन्नका लागि र एक पटक आइसकेकोलाई पटक पटक नेपाल जाउँ भन्नका लागि हामीले अतिथि देवो भवअनुसारको संस्कारअनुसारको व्यवहार देखाउनुपर्नेछ ।”

मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित र सुचारु छ भन्ने देखाउनुपर्ने बताए।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !