२४ आश्विन २०८१, बिहिबार

स्याङ्जाका थापाद्धारा बृद्धभत्ताबाट विद्यार्थीलाई लत्ताकपडा र शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति :  10 October, 2024 5:28 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ६ का ९२ वर्षीय प्रेमबहादुर थापाले आफ्नो बृद्धभत्ताबाट १३ जना विद्यार्थीलाई लत्ताकपडा र शैक्षिक सामाग्री वितरण गरेका छन् ।

लुब्दीखोला आधारभूत विद्यालयमा आयोजना गरिएको दसैं शुभकामना आदानप्रदान कार्यक्रममा उक्त सामाग्रीहरू वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै थापाले सामाग्री वितरण गरेर बालबालिकाको शैक्षिक विकासमा योगदान पुर्‍याउन पाउँदा खुसी भएको बताए । उनले यस सहयोगले विद्यार्थीको मनोबल वृद्धि गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

थापाले भविष्यमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “मेरो सानो योगदानले पनि कसैको जीवनमा परिवर्तन ल्याउन सक्छ,” उनले थपे ।

कार्यक्रममा भीरकोट नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लक्ष्मण  केसीले थापाको कार्यलाई उच्च सराहना गर्दै यस प्रकारका सहयोगले विद्यार्थीको शैक्षिक वातावरणमा सुधार ल्याउने विश्वास व्यक्त गरे। “हामीले सामुदायिक सहभागितामा यस्ता कार्यलाई बढावा दिन आवश्यक छ,” उनले भने।

कार्यक्रममा प्रगतिशील आमा समूह, विद्यालय व्यवस्थापन समिति, युवा क्लबदेखि अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !