२५ आश्विन २०८१, शुक्रबार

बीपी राजमार्ग फेरि अवरुद्ध : सुख्खा पहिराेमा बस र सुमो पुरिए

प्रकाशित मिति :  11 October, 2024 11:23 am


काठमाडौँ । बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत पर्ने रोशी गाउँपालिका-११ पिप्लेमा सुख्खा पहिरो खस्दा सडक फेरि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

सडकमा सवारी साधन गुडिरहेको अवस्थामा एक्कासी माथिबाट आएको सुख्खा पहिरोमा बस र सुमो गाडी पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । कार्यालयले सूचना जारी गरी सिन्धुलीटबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ, भने खोटाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको जनाएको छ।

प्रहरीले घटनामा कुनै मानवीय क्षति भने नभएको जनाएको छ। आज बिहान करिब तीन बजे पहिरो खसेको जानकारी दिँदै प्रहरीले पहिरोले बसलाई सडकबाट झण्डै २० मिटर तल खसालेको र पहिरोले पुरेको सुमोको भने पछाडिको भाग मात्रै देखिएको जनाएको छ।

‘बीपी राजमार्गअन्तर्गतकै नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गाउँपालिका ११ पिप्लेस्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्कालको लागि दुईतर्फी नै सडक अवरुद्ध रहेकाले यात्रा नगर्न अनुरोध छ’, जिल्ला प्रहरी कार्यालय काभ्रेले केही बेरअघि जारी गरेको सूचनामा भनिएको छ।

विगत दुई सातादेखि अवरुद्ध बीपी राजमार्गमा आजदेखि पूर्णरुपमा सवारी साधन सञ्चालनमा आउने भनिएको थियो। बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको यो सडक सामान्य मर्मतपछि शुक्रबार बिहानदेखि सञ्चालनमा ल्याउने तयारी भइरहँदा पुनः पहिरो खसेको हो।



प्रतिक्रिया दिनुहोस !