२५ आश्विन २०८१, शुक्रबार

राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छः शंकर पोखरेल

प्रकाशित मिति :  11 October, 2024 4:32 pm


काठमाडौँ। सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताएका छन्।

राज्यलाई बलियो बनाउन र जनतालाई आफ्नो अधिकारलाई प्रयोग गर्नसक्ने बनाउन पनि लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने महासचिव पोखरेलको तर्क थियो ।

शुक्रवार कीर्तिपुरमा एमाले मुख्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले सो भवन आधुनिक हुने र त्यसले मुलुकमा निर्माणमा समेत सहयोगी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

सो भवन १० रोपनी १४ आना जग्गामा बन्दैछ । भवन भाटभटेनी सुपरमार्केटका प्रमुख मीनबहादुर गुरुङले सो भवन निर्माण पनि गरिदिने प्रतिवद्धतासहित एमालेलाई जग्गा उपलब्ध गराएका हुन्।

महासचिव पोखरेलले सो जग्गा उपलब्ध गराउने गुरुङ र उनको परिवारप्रति आभार व्यक्त गरेका थिए।

पोखरेलले भने, “‘लोकतन्त्रमा राजनीतिक दलहरु समाजमा प्रतिनिधि संस्थाका रुपमा रहेका छन् । र तिनीहरु बलिया हुनसके भने मात्रै लोकतन्त्र बलियो हुन्छ । राज्य बलियो हुन्छ । लोकतन्त्रमा राज्य बलियो भयो भने मात्रै जनताले अधिकारलाई प्रयोग गर्नसक्ने स्थिति बन्दछ ।”

गुरुङले भने आफूलाई विश्वास गरेर एमालेले सो भवन निर्माण गर्ने अवस दिएको भन्दै धन्यवाद व्यक्त गरे । उनले आफू एमाले निकट रहेकाले पनि सो भवन निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

व्यवसायी गुरुङले सो भवन नौ रेक्टर स्केलको भूकम्पलाई पनि धान्नेगरी बनाएर आगामी वर्ष २०८२ सालको दशैंको घटस्थापनाको दिन एमालेलाई हस्तान्तरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

गुरुङले भने, “एमालेले विश्वास गरेर हामीलाई जुन मौका दिनुभयो । त्यसका लागि हामी हृदयदेखि नै धेरैधेरै धन्यवाद दिन चाहन्छौ । नौंं रेक्टरसम्मको भूकम्पलाई धान्नेगरी यो भवन निर्माण हुनेछ । सबै विपद्लाई हेरेर एकदमै अत्याधुनिक र सुन्दर भवन बनाई दिनेछौं भन्ने प्रतिवद्धता जाहेर गर्दछौं । र यो भवन अर्को सालको घटस्थापनाको दिन उद्घाटन हुन्छ । त्यो दिनका लागि म अहिले नै सबैलाई निम्ता गर्न चाहन्छु ।”

व्यवसायी गुरुङले आफूले व्यवसायीको रुपमा अन्य राजनीतिक दल र समाजको अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको पनि स्मरण गराए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !