२६ आश्विन २०८१, शनिबार
विजयादशमीमा मुख्यमन्त्रीको शुभकामना सन्देश

नागरिकहरुमा आशा, भरोसा र भविष्यप्रतिको विश्वास जगाउन प्रयासरत छौँ-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  12 October, 2024 5:58 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बडा दसैँ तथा विजयादशमी, २०८१ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले प्रदेशको समृद्धि, विकास, सुशासनको चाहना पूरा गर्ने अभियानमा आफ्नो भूमिकाहरु अगाडि बढाइरहेको बताएका हुन् । ‘‘नागरिकहरुमा आशा, भरोसा र भविष्य प्रतिको विश्वास जगाउन हर प्रयास गरेका छौँ’’, शुभकामना सन्देशमा भनिएको छ, ‘‘आफ्नो देशको माटोप्रति प्रेम, नेतृत्वप्रति विश्वास र भविष्यप्रति ढुक्कको वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व हो । यो दायित्व निभाउन प्रदेश सरकार प्रतिबद्ध छ ।’’

यस्तै मुख्यमन्त्री आचार्यले नेपाली मौलिक सांस्कृतिक पर्वहरुले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको स्मरण गर्दै यसप्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्दै आएको बताए । ‘‘यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानता सहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास लिएको छु’’, शुभकामना सन्देशमा भनिएको छ, ‘‘विजयादशमी पर्व असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकको रूपमा मनाइने विशेष महत्वको चाड हो ।’’

विजयादशमी पर्व घटस्थापनादेखि प्रारम्भ भई कोजाग्रत पूर्णीमासम्म विविध सांस्कृतिक क्रियाकलाप एवं उत्सवका साथमान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहणगर्दै पारिवारिक जमघट एवं पुनर्मिलन गराई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रही आएको छ ।



प्रतिक्रिया दिनुहोस !