२६ आश्विन २०८१, शनिबार

राजनीतिक अस्थिरता मुलुकको लागि चुनौती-महासचिव पोखरेल

प्रकाशित मिति :  12 October, 2024 10:54 am


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेका बताएका छन् । बडादसैँको अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरेलले नेपाल संस्कृतिमा अत्यन्त धनी रहेको बताएका छन् । ‘नेपालका मौलिक सांस्कृतिक पर्वहरूले नै नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेका छन्, वीर नेपालीको भूमिका रूपमा परिचित नेपाललाई सांस्कृतिक रूपमा सम्पन्न राष्ट्रका रूपमा बुझ्ने गर्दछौं’, उनले भने।

पछिल्ला दिनहरूमा नेपालको मौलिक संस्कृतिमाथि विभिन्न कोणबाट प्रहार गर्ने प्रयास भएको भन्दै पोखरेलले चिन्ता व्यक्त गरेका छन् । नेपालको संस्कृति मूल्य र मान्यताको विगठन हुने क्रम बढेको उनले बताए । ‘चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ’, पोखरेलको शुभकामना सन्देशमा भनिएको छ ।

समाजमा रहेका विकारलाई अन्त्य गरेर मुलुकलाई सभ्य, समृद्ध र विकसित राष्ट्र बनाउनुपर्नेमा पोखरेलले जोड दिए । राजनीतिक परिवर्तन पछाडि मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने बेलामा नेपालको राजनीति अलमलिएको अवस्थामा रहेको उनको धारणा छ । ‘राजनीति अस्थिरता चुनौती बनिरहेको छ, राजनीतिमा पनि शक्तिलाई सुदृढ गर्नुपर्ने, बलिया शक्तिका माध्यमबाट शासन व्यवस्था अगाडि बढाउनुपर्ने आवश्यकता छ’, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रिय राजनीतिमा बलिया राजनीतिक शक्तिलाई स्थापित गर्ने अठोट गर्नु आजको आवश्यकता भएको उनले स्पष्ट पारे । हाम्रा सांस्कृतिक पर्व यही अठोटका साथ मनाउनु पर्नेमा पोखरेलले जोड दिए ।



प्रतिक्रिया दिनुहोस !