२६ आश्विन २०८१, शनिबार

चौरानब्बे वर्षिय दाजुसँग राष्ट्रपति पौडेलले लगाए दसैँको टीका

प्रकाशित मिति :  12 October, 2024 1:17 pm


काठमाडौँ । विश्वभरका हिन्दु नेपालीहरुले मान्यजनको हातबाट टीका आशीर्वाद ग्रहण गरिरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले पनि दसैँको टीका लगाएका छन् । आफ्ना ९४ वर्षिय दाजु डुण्डीराज पौडेलको हातबाट राष्ट्रपति पौडेलले टीका आशीर्वाद ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान ११ः३६ बजेको शुभसाइतमा उनले दाजुबाट टीका र जमरा ग्रहण गरेका े स्वकीय सचिवालयले जानकारी दिएको छ ।
उक्त अवसरमा राष्ट्रपति पौडेलले गुरु–पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए ।

राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि पत्नी सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीका–जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

विजया दशमीका उपलक्ष्यमा शनिवार दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३ः३० देखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३ः३० बजेसम्म उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तिलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका–जमरा लगाइदिने छन् ।

साथै, निजामती, जंगी, प्रहरीतर्फ अधिकृतस्तरका व्यक्तिलाई पनि टीका–जमरा लगाइदिने कार्यक्रम छ । यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका–जमरा लगाइदिने कार्यक्रम तय छ ।



प्रतिक्रिया दिनुहोस !