२९ आश्विन २०८१, मंगलबार

कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँः अध्यक्ष ढकाल

प्रकाशित मिति :  15 October, 2024 4:48 pm


काठमाडाैँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।

कोरला नाकाको भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले कोरला नाका नेपालको लागि नाका भएको बताउँदै कोरला नाका नेपाल—भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाका भएको बताए ।

कोरलाबाट नेपालले दुवै देशसँग फाइदा लिनसक्ने उल्लेख गरे । उनले सडक पूर्वाधारको हिसावले सुनौलीदेखि कोरलासम्म नै पुगेको तर अन्य आधारभुत पूर्वाधार बनाउन नेपालले नसकेको गुनासो गरे । उनले अधिकांश सडकहरू पनि कालोपत्रे भइसकेकाले सरकारले उच्च महत्व दिएर कोरला नाकामा पूर्वाधार निर्माण बढाउनुपर्ने बताए ।

उनले पोखरा पुगेका अधिकांश पर्यटकको रोजाई कोरला नाका हुने गरेको भन्दै पर्यटन, व्यापार र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण हुने दाबी गरे । उनले चीनको तर्फबाट मात्रै नाकामा पूर्वाधार तयार भइसकेको तर नेपालले छिटो गरी पूर्वाधार तयार गर्न नसक्दा आर्थिक क्रियाकलापमा क्षति भइरहेको बताए ।

अध्यक्ष ढकालले कोरला नाका सरकार र निजी क्षेत्रका साथै दुई छिमेकी देशले पनि विशेष प्राथमिकता दिएको नाका भएको बताए । नेपाल र चीनलाई जोड्ने अहिले सञ्चालनमा रहेका तातोपानी र रसुवा नाका भूगोलका हिसावले कमजोर रहेको र समस्या आइरहने भएकाले कोरला नाकालाई प्राथमिकता दिँदा स्थायी रूपमा पारवहन र व्यापार गर्न सकिने एवं नेपालले अन्य धरै लाभ लिनसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !