२९ आश्विन २०८१, मंगलबार

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

प्रकाशित मिति :  15 October, 2024 6:39 pm


काठमाडाैँ । आगामी बिहीवारदेखि घरेलु मैदानमा शुरु हुने साफ महिला फुटबल च्याम्पियनसिपको अन्तिम चरणको तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दैै अन्तिम चरणको तयारी पनि पूरा भएको जनाएको छ । यसै साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली महिला टोली सोमवार नै घोषणा भइसकेको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणबाट टोली घोषणा गरेका हुन् । च्याम्पियनसिपमा सहभागी सात राष्ट्रमध्ये भारत र भूटान बुधवार बिहान आउनेछन् । पाकिस्तान, माल्दिभ्स, श्रीलंका र बंगलादेश भने नेपाल आइपुगिसकेका छन् । एन्फाले टिकटको मूल्य साधारणतर्पm तीन सय र भिआइपीतर्फ ५ सय रूपैयाँ तोकेको छ । एन्फाका प्रवक्ता सुरेश शाहले नकआउट चरणका लागि भने साधारणतर्पm पाँच सय र भिआइपीतर्फ एक हजार रुपैयाँ तय गरेको बताए । साथै शाहले १० वर्षसम्मका बालबालिकालाई निशुल्क प्रवेश दिइने बताएका छन् ।

आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनसिप हुँदैछ । आयोजक नेपालले भने कातिक २ गते भूटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ । हाल विदेशी लिग खेलिरहेका रेखा पौडेल र सावित्रा भण्डारीको टोलीमा समावेश नहुने चर्चा चलिरहेको थियो । यद्यपि, एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले रेखा नेपाल आइसकेको र सावित्रा दोस्रो खेलभन्दा एक दिनअगाडि नेपाल आउने बताएका छन् । यस्तो अवस्थामा उनलाई दोस्रो खेल खेलाउने या नखेलाउने प्रशिक्षकको निर्णय रहेको उनको भनाइ छ ।

मिश्रले १० वर्षभन्दा माथि उमेरका बालबालिकाका लागि भने टिकट लाग्ने स्पष्ट पारेका छन् । खेल प्रतिष्पर्धा हुने दशरथ रंगशाला र अभ्यास गर्ने खेल मैदान पूर्णरूपमा तयार रहेको मिश्रले बताए । उनले माउन्ट एभरेस्ट स्पोटर््स एन्ड इभेन्ट्स प्रालीलाई एन्फाले कुल ८० लाखमा टिकेटिङ राइट्स बिक्री गरेको बताएका छन् । 

लगातार तेस्रो संस्करण नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको हो । यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले समान एकपल्ट यसको आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भूटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने तय छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दैछन् । हालसम्म नेपाल पाँचपल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन । महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ । यस च्याम्पियनसिपमा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ । 

एञ्जिलाको कप्तानीमा नेपाली टोली 

साबिकको उपविजेता नेपालले सोमवार महिला साफ च्याम्पिनसिप खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको थियो । मुख्य प्रशिक्षक तामाङले एञ्जिला तोम्बाप्पो सुब्बाको कप्तानीमा राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन् । फरवार्डमा सावित्रा भण्डारीसहित रेखा पौडेल, अनिता केसी र रश्मिकुमारी घिसिङ छन् ।

मिडफिल्डमा रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिशा कार्की र विमला चौधरी छन् । डिफेन्समा गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी थोकर छन् । गोलकिपरमा कप्तान एञ्जिलासँगै अन्जना रानामगर र उषा नाथले स्थान बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !