९ मंसिर २०८१, आइतबार

फुटबल टोलीकी कप्तान एञ्जिलाले भनिन्ः साफमा यसपल्ट च्याम्पियन बन्छौं

प्रकाशित मिति :  16 October, 2024 5:51 pm


काठमाडाैँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने लक्ष्य रहेको बताएकी छन् ।

नेपालले तेस्रोपल्ट महिला साफ च्याम्पियनसिपको आयोजना गर्दैछ । बिहीवारदेखि घरेलु मैदानमा हुने साफ च्याम्पियनसिपमा नेपाली टोलीकी कप्तान तथा गोलकिपर कप्तान च्याम्पियन हुने लक्ष्य रहेको बताएकी हुन् । उनले सबै टोली मेहनत गरेर च्याम्पियन बन्नकै लागि आएपनि यसपल्ट आफ्नो टोली सन्तुलित र बलियो रहेको विश्वास व्यक्त गरिन् । कप्तान एञ्जिला यसपल्ट आफ्नो टोलीको मेहनत खेर नजानेमा आशावादी देखिएकी छन् । च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीवार भारत र पाकिस्तान भिँड्दैछन् ।

आयोजक नेपालले भने शुक्रवार भूटानसँग खेल्दै साफ च्याम्पियनसिपको शुरुवात गर्दैछ । पहिलो लक्ष्य समूहचरणका खेलमा राम्रो गर्नु रहेको बताउनु भयो साफको तयारीका लागि समय छोटो भए पनि घरेलु लिगले मद्दत पुग्ने उनको विश्वास छ । डिफेन्समा समस्या हुँदा गोलकिपरले महत्वपूर्ण भुमिका खेल्नुपर्ने र यसमा राम्रो गर्नसके टोलीमा सुधार आउने उनको भनाइ छ । कप्तान एन्जिलाले अन्तर्राष्ट्रिय एक्सपोजर नभए पनि प्राप्त अवसरबाट उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यअनुरूप खेल्नुपर्ने औंल्याइन् ।

केही समयअगाडि मात्र एन्फा महिला लिगको पहिलो चरण पूरा भएको थियो । सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । त्यहाँबाट राष्ट्रिय टोली निर्माण गरिएको हो । नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले दुई हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताए । फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको उनको भनाइ छ ।

प्रशिक्षक तामाङले यसबिच केही स्ट्राइकरहरू पनि विदेशमा रहेकाले टिममा एकसाथ प्रशिक्षण गर्ने अवसर नमिले पनि प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको बताए । पाँच पटक साफको फाइनल खेले पनि उपाधिमा चुक्नुको मुख्य कारण डिफेन्समा कमजोरी रहेको उनको बुझाइ छ । यसको सुधारका लागि खेलाडीहरू पनि थप सजक हुनुपर्ने उनी बताउँछन् । तथापि, यसपल्ट डिफेन्समा सुधार भएको उनको विश्वास छ ।

नेपालको समूहमा रहेको भूटानले फुटबलमा धेरै लगानी गरिरहेको र त्यहीअनुरूप प्रदर्शन पनि गरेकाले सहज प्रतिद्वन्दी नहुने उनको भनाइ छ । सबै टोली बलियो रहे पनि आफ्नो टोलीका खेलाडी त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक तामाङ बताउँछन् । आफ्ना दुई स्ट्राइकरमध्ये रेखाले एकदिन मात्र टोलीसँगै प्रशिक्षण गर्न पाउने भए पनि अर्की स्ट्राइकर सावित्रा भण्डारीले एक खेलपछि मात्र खेल्ने भएकाले तालमेल अभाव हुने उनको बुझाइ छ ।



प्रतिक्रिया दिनुहोस !