सरकार परिवर्तनको भ्रममा नपर्नुस्ः प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताएका छन् ।दसैंपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे।
२०८४ सालको दशैँपछि सरकार परिवर्तन हुने उनको जिकिर थियो । ६९ औं प्रहरी दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २ वर्षे आफ्नो कार्यकाल पूरा हुने बित्तिकै काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि दोहोर्याए ।
उनले देउवाले चुनावी सरकारको नेतृत्व गर्ने र चुनाव सम्पन्न भएपछि नयाँ सरकार बन्ने तर त्यसअघि काँग्रेस–एमाले गठन सरकार कायमै रहने दाबी समेत गरे । काँग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार करिव दुई तिहाईको सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खरानीको डल्लो नसम्झन पनि चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले वर्तमान शासन प्रणालीको विकल्प सोच्न पनि नसकिने पनि बताए । त्यस अवसरमा उहाँले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको दिएको योगदानको प्रशंशा समेत गरेका थिए ।