२ कार्तिक २०८१, शुक्रबार

नेपालको स्थानीय विशेषतामा आधारित प्रकृतिसम्मत खेती प्रणाली अपनाउनुपर्नेमा विज्ञहरुको जोड

प्रकाशित मिति :  17 October, 2024 8:22 am


काठमाडौँ। नेपालको स्थानीय विशेषतामा आधारित प्रकृतिसम्मत खेती प्रणाली अपनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी खाद्यका लागि कृषि अभियानले किसानलाई केन्द्रमा राखेर नेपालको स्थानीय विशेषतामा आधारित प्रकृतिसम्मत खेती प्रणाली अपनाउनुपर्नेमा विज्ञहरुले जोड दिनुपर्ने बताएको हो ।

यस वर्ष ४४ औं विश्व खाद्य दिवस मनाउन लागिएको हो । विश्वभर रहेका कुल जनसंख्याको प्रत्येक ११ जनामध्ये १ जना भोकै रहने वर्तमान अवस्थामा खाद्य दिवस र यसले दिने सन्देश महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ ।

पछिल्लो समयमा प्रकृक्तिको अत्याधिक दोहनले निम्त्याएका संकटको सामना गर्दै विश्व शिखर सम्मेलनहरूमा खाना र खेतीपाती साझा चासोको विषय भएको अभियानले बताएको छ ।

आम नागरिकले विषरहित पोषिलो खाना उत्पादन गर्न र खान पाउने अधिकार सुनिश्चित गर्न हावा, पानी, माटो र समग्र प्रकृति जीवन्त राख्नेकुरा सर्वाधिक महत्वपूर्ण रहेको विज्ञहरुको बताएका छन् ।

खाना र खेतीपातीको परम्परागत बाटो फेर्नैपर्ने आवश्यकता रहेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए। उनले सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने वृहत र साहसी राजनैतिक प्रतिज्ञा गरे पनि सरकारी नीति तथा कार्यक्रममा त्यसको छनक समेत पर्न नसकेको गुनासो पनि गरे।

कृत्रिम रसायन र विषादी रहित खेतीपाती र खानाको बन्दोवस्त गर्ने प्रयत्न नगरे यस्ता विकराल समस्याहरुको उपयुक्त समाधान नसकिने अधिकारीको भनाइ छ।

सबै तहका सरकार, नागरिक समाज, सज्वार जगत र सम्पूर्ण किसान समुदायलाई यो अभियानमा जुट्न आह्वान गरे।

खाद्यका लागि कृषि अभियानले यस वर्षको ४४ औं विश्व खाद्य दिवस कार्तिक २७ गते मनाउने तयारी गरेको छ। ‘सुखी जीवन र समुन्नत भविष्यको लागि खाद्य अधिकार’ भन्ने नारासहित अभियानले कार्तिक २७ गते विभिन्न कार्यक्रमहरूको आयोजना गरि विश्व खाद्य दिवस मनाउने तयारी गरेको हो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइन्छ। अभियानको नेतृत्वमा नेपालमा महिनाव्यापी रुपमा विश्व खाद्य दिवस मनाइने गरिएको छ भने कृषि तथा पशुपन्छी मन्त्रालय मातहतको कृषि विभागले मूल समारोह र प्रभातफेरी गरेर दिवस मनाउने गरेको छ ।

यो दिवस नेपालको दशैँ तिहार लगायतका चाडवाडको बिचमा प्रयासः पर्ने भएकाले दिवसकै दिन भन्दा सन्दर्भ पारेर अरु दिनमा मनाइने गरिएको छ । सरकारको आयोजनामा नेपालमा भने सरकारी तबरबाट असोज २१ गते नै यो दिवस मनाइसकिएको छ।



प्रतिक्रिया दिनुहोस !