२ कार्तिक २०८१, शुक्रबार

फोहोर व्यवस्थापनमा लापरबाही गर्ने बुद्धमाई अस्पताललाई एक लाख रुपैयाँ जरिवाना

प्रकाशित मिति :  18 October, 2024 11:00 am


काठमाडौँ । फोहोर व्यवस्थापनमा बारम्बार लापरवाही गरेको आरोपमा टेकुस्थित बुद्धमाई अस्पताललाई १ लाख रुपैयाँ जरिवाना गरिएको छ। काठमाडौँ महानगरपालिकाले चौथो पटक अनुगमन गर्दा पनि फोहोर व्यवस्थापनमा सुधार नदेखिएपछि कारबाही गरेकाे हाे ।

२०७८ साल फागुन ११ गते पहिलो पटक अनुगमन हुँदा अस्पतालमा फोहोर व्यवस्थापनमा कमी देखिएपछि सुधार गर्न निर्देशन दिएको थियो। तर, पटक–पटकको अनुगमनले अस्पतालले निर्देशन पालना नगरेको देखिएपछि महानगरले कारबाही गरेकाे हाे ।

२०७९ साल चैत ६ गते महानगरपालिकाले स्वास्थ्य संस्थाहरूलाई फोहोर व्यवस्थापनसम्बन्धी तालिम पनि प्रदान गरेको थियो। उक्त तालिममा बुद्धमाई अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजेश तण्डुकार पनि सहभागी भएका थिए। तथापि, तालिमपछि पनि सुधार नदेखिएको र फोहोर व्यवस्थापनमा गम्भीर लापरवाही भएको अनुगमन टोलीले जनाएको छ।

२०७९ साल भदौ २२ गतेको तेस्रो अनुगमनका क्रममा पनि अस्पतालमा फोहोर व्यवस्थापन प्रणालीमा कुनै सुधार देखिएन। हानीकारक फोहोरहरू सामान्य फोहोरसँगै राखिएको, अटोक्लेभ मेसिन नहुनु, र व्यवस्थापनको स्पष्ट योजना नदिनुजस्ता समस्याहरू पाइएको थियो।

ताजा अनुगमनमा पनि अस्पतालको अवस्था पहिलेको भन्दा फरक नदेखिएपछि, अस्पताललाई १ लाख रुपैयाँ जरिवाना गरिने निर्णय भएको छ। यसअघि पनि अस्पताललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !