२ कार्तिक २०८१, शुक्रबार

प्रतिपक्ष दलहरूले जनसरोकारका विविध विषयमा ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराउने

प्रकाशित मिति :  18 October, 2024 12:56 pm


काठमाडाैँ । प्रतिपक्ष दलहरुले जनसरोकारका विभिन्न विषयहरूमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठकले जनसरोकारका विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।

बैठकले प्राकृतिक विपद्को समयमा सरकार जनताप्रति जवाफदेही नभएको र उदासिन भएको निस्कर्ष पनि निकालेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार जनसरोकारका विषयहरू सम्बोधन गर्न केन्द्रीत नभइ निहित स्वार्थलाई प्राथमिकतामा राखेर अगाडी बढेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन लागिएको बताए । उनले ध्यानाकर्षण गराउँदा पनि सरकारमा जिम्मेवारीबोध नदेखिएमा संसदको विशेष अधिवेशनको माग गरिने बताए ।

त्यस्तै बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकारले परराष्ट्र मन्त्रालयमा ११० जनाभन्दा बढी कर्मचारी थपेर राज्यलाई स्थायी रुपमा भार पार्न खोजेको बताए ।उनले केश लागेको व्यक्तिसँग प्रधानमन्त्रीले आफ्नो पार्टी भवन बनाउन सहयोग लिएको भन्दै सो विषयमा सौदाबाजी पनि भएको हुनसक्ने आशंका व्यक्त गरे । उनले यिनै विषयमा सरकारलाई प्रतिपक्ष दलले खबरदारी गरेर ज्ञापन पत्र बुझाउने जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले प्रधानमन्त्रीले विगतदेखि नै अध्यादेशमा काम गर्ने गरेको भन्दै फेरि पनि साना दलहरुलाई फुटाउने गरी अध्यादेश ल्याउनसक्ने शंका भएको बताए । उनले यस विषयमा प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुख समेतलाई ध्यानाकर्षण गराउने उल्लेख गरे ।

प्रतिपक्ष दलहरुको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा(एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीको उपस्थिति रहेको थियो । विपक्षी दलहरूको बैठकले नेकपा(माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेत, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदल समेत गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !