२ कार्तिक २०८१, शुक्रबार

कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिप सुरू

प्रकाशित मिति :  18 October, 2024 6:33 pm


काठमाडाैँ । नेपाल र कोरियाबिच दौत्य सम्बन्ध भएको ५० औं वार्षिकोत्सवको अवसरमा कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिप शुक्रवारदेखि सुरू भएको छ । 

नेपालस्थित दक्षिण कोरियाली दुतावासको आर्थिक सहयोग र नेपाल तेक्वान्दो संघको आयोजनामा चारदिने प्रतियोगिता शुरू भएको हो ।

उक्त प्रतियोगिताको नेपाली काँग्रेसका महामन्त्री गगन थापा र कोरियाली राजदुत पार्क ताइ योङले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।  उक्त प्रतियोगितामा ग्यरोगी र पुम्से गरी कुल ७२ स्वर्ण पदकका लागि करिव १२ सय खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । 

उद्घाटनको अवसरमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तेक्वान्दो खेलसँग आफ्नो विशेष सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना दुई छोरीलाई पनि कुनै खेल खेल्नुपर्छ भन्ने मान्यता राखेर तेक्वान्दो प्रशिक्षण गराउँदै आएको बताए । उनले कोरियन एम्बेसडर तेक्वान्दो च्याम्पियनसिपबारे पनि जानकार रहेको उल्लेख गरे ।

पूर्वमन्त्रीसमेत रहनुभएका थापाले नेपाल र कोरियाबीचको सम्बन्ध दशकौंसम्म जारी रहने आशा व्यक्त गर्दै नेपालका विभिन्न क्षेत्रमा कोरियाको लगानी आवश्यकता रहेको धारणा राखे । उनले कोरियासँग नेपालले विभिन्न क्षेत्रमा सहकार्य गर्न चाहेको बताए ।


नेपाल तेक्वान्दो संघको अध्यक्ष प्रकाशसमसेर राणाले सातै प्रदेशका करिब १२ सय खेलाडीले प्रतिस्पर्धा गर्ने बताउनु भयो । उहाँले नेपालमा दक्षिण कोरिया सरकारले खेलकुदका साथै विभिन्न क्षेत्रमा महत्वपूर्ण सहयोग गरिरहेको उल्लेख गर्नुभयो । 


उहाँले यो प्रतियोगिताका लागि दक्षिण कोरियाली दुतावासबाट सहयोग गरेको उल्लेख गर्दै नेपालसँगको सम्बन्ध ५० वर्ष पुगेको अवसरमा खेल आयोजना गरेको बताउनु भयो 



प्रतिक्रिया दिनुहोस !