मंसिर १८ गते विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट जन्ती आउने
प्रकाशित मिति : 18 October, 2024 7:56 pm
काठमाडाैँ । रामजानकी विवाहपञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ ।
साढे पाँचसय भन्दा बढीको संख्यामा आउने जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा शुरु भइसकेको जनाइएको हो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार यसै तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरिएको हो ।
विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए। जन्तीमा सन्तमहन्थ र विश्व हिन्दु परिषद्का अधिकारीहरु सहभागि रहनेछन् ।
मंसिर १८ गते जन्ती जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । अयोध्याबाट आएका जन्तीहरु मंसिर २३ गते भारतका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।