३ कार्तिक २०८१, शनिबार

गठबन्धनमा आएको दरारले सरकार लामो समयसम्म टिक्दैन भन्ने प्रमाणित गरिसक्यो–पुन

प्रकाशित मिति :  19 October, 2024 4:55 pm


रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको दाबी गरेका छन् । प्रेस सेन्टर रोल्पाले शनिबार सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “सत्ता साझेदार दलमा खटपट सुरु भएको प्रमाणित स्वयं नेपाली कांग्रेसका नेताहरूले गरेका छन् । सार्वजनिक रूपमै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र सरकारको रबैयाप्रति आलोचना हुन थालेको छ यसबाट दुई दलबीचको सम्बन्धमा खटपट उत्पन्न भएको पुष्टि हुन्छ ।”

दुई ठूला दल मिलेपछि मुलुकमा राजनीतिक स्थिरता आउँछ भन्ने विचार राख्दै आएका कांग्रेसका शीर्ष नेता मध्येका एक डा. शेखर कोइरालाले दुईतिहाइको सरकारले काम गर्न नसकेको अभिव्यक्ति दिन थालेको उपमहासचिव पुनले बताए ।

कोइरालाले नै ठूला दल मिल्दा लोकतन्त्र कमजोर हुने र जनतामा निराशा चुलिए व्यवस्थामै संकट आउने हो कि भन्ने आशंका व्यक्त गरेको पनि उनले बताए । उनले एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले करोडौँ मूल्य पर्ने १० रोपनी १४ आना जग्गा दान दिएको विषयमा कांग्रेस नेताहरूले सार्वजनिक रूपमै प्रश्न उठाएको बताए ।

‘‘प्रधानमन्त्रीले नैतिक रुपमा आफ्नो दलको कार्यालय बनाउन करोडौँ मूल्यको जग्गा दान लिन मिल्ने कि नमिल्ने ? त्यसबारे उहाँ र एमालेले जवाफ दिनुपर्ने कि नपर्ने ?’’, उपमहासचिव पुनले भने, ‘‘त्यसमा स्वार्थ छ कि छैन भनेर नेपाली कांग्रेसकै नेताहरूले प्रश्न उठाइरहनुभएको छ । सामान्य जनताले र प्रतिपक्षले प्रश्न उठाउनु सामान्य हो । सत्तारुढ दलभित्रैबाट प्रश्न उठाइनुले उहाँहरुबीचको सम्बन्ध सामान्य अवस्थामा छैन भन्ने देखाउँछ ।’’



प्रतिक्रिया दिनुहोस !