४ कार्तिक २०८१, आइतबार

स्याङ्जामा सकेट बम विस्फोट, पूर्व सैनिक घाइते

प्रकाशित मिति :  20 October, 2024 5:08 pm


स्याङ्जा । स्याङ्जाको चापाकोटमा हिजाे (शनिबार) दिउँसो बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। चापाकोट नगरपालिका वडा नम्बर ५, पुरीगाउँमा घरको सामान ओसारपसार गर्ने क्रममा बम विस्फोट भएर ४५ वर्षीय गोविन्द पुरी घाइते भएका हुन्।

उनको बायाँ आँखा मुनिको भाग, खुट्टा, पेटलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ। पुरी नेपाल आर्मीका पूर्वकर्मचारी हुन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद पौडेलले घटनाका बारेमा अनुसन्धान थालिएको बताए। उनका अनुसार घटना दिउँसो ३ बजेतिरको भए पनि प्रहरीलाई साँझ ५ बजे खबर भएको थियो।

विस्फोटपछि स्थानीय इलाका प्रहरी कार्यालय चापाकोटको टोली घटनास्थलमा पुगेको थियो, भने जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी अधिकृतसहितको टोली र सिंह सार्दुल गुल्मको बम डिस्पोजल टोलीले घटनास्थल सुरक्षित गरी अनुसन्धान थालेका छन्।

घटनास्थलबाट बम डिस्पोजल टोलीले उच्च विस्फोटक पदार्थसहित केही घातक सामग्रीहरू बरामद गरेको छ। बरामद वस्तुहरूमा ९०० ग्राम हाइ एक्पोलोसिभ पिइके, २ थान डेटकड (१.५ मिटर लामो), ७.६२ एमएमको जंगी गोली, र दुई थान खाली खोकाहरू समावेश छन्।

घाइते पुरीलाई अहिले इलाका प्रहरी कार्यालय चापाकोटको नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !