५ कार्तिक २०८१, सोमबार

टि ट्वान्टी आई : अमेरिकाविरुद्धको सिरिजमा नेपालको क्लिन स्विप

प्रकाशित मिति :  21 October, 2024 12:15 pm


काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । तेस्रो टि ट्वान्टी खेलमा सोमवार ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टि ट्वान्टी आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो ।

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो । १ सय ५७ रनको मध्यम लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ३९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले । टि ट्वान्टी करियरको छैठौं अर्धशतक बनाए लगत्तैको बलमा आसिफ जायस ड्रेल्सद्वारा आउट भए ।

कुशल मल्लले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ४४ रन बनाए । यस सिरिजमा पहिलो पटक मौका पाएका कुशलले कुशल भुर्तेलसँग मिलेर तेस्रो विकेटका लागि नट आउट ७४ रनको साझेदारी गरे ।

भुर्तेलले ३२ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट ४० रन जोडे । ओपनर अनिलकुमार शाह पहिलो विकेटका रुपमा १३ रन बनाउँदै जसदिप सिंहको बलमा एलबिडब्लु आउट भए । अमेरिका लागि जायस ड्रेल्स र जसदिप सिंहले समान १ विकेट लिए ।

त्यसअघि अमेरिकाको ग्राण्ड प्रेरीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गरेको थियो ।

साइतेजा मुककामल्लाले ५० बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । मुककामल्ला अर्धशतक बनाएर सोमपाल कामीको बलमा बोल्ड आउट भए ।

चौथो विकेटका लागि मुककामल्ला र मिलान्ड कुमारले ७६ रनको साझेदारी गरेका थिए । कुमारले ३५ बलमा ४ चौकाको सहयोगमा नट आउट ४३ रन बनाए । आरोन जोन्स १३ रन बनाउँदै ललित राजवंशीको बलमा रिजन ढकालबाट समातिए ।

अमेरिका कप्तान मोनांक पटेल २ रन बनाउँदै सोमपालको बलमा एलबिडब्लु धरापमा परे । हर्मित सिंह १० रनमा नट आउट रहे ।

नेपालका लागि सोमपालले ३ तथा रिजन ढकाल र ललितले समान १ विकेट लिए । नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतवार नै जितिसकेको छ । पहिलो टि ट्वान्टी आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

यस सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ । कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।



प्रतिक्रिया दिनुहोस !