५ कार्तिक २०८१, सोमबार
मन्त्री अधिकारीका १०० दिन

कृषिमन्त्री अधिकारीद्धारा १०० दिनको उपलब्धि सार्वजनिक, रासायनिक मलको आपूर्ति र बाली बिमामा सुधार

प्रकाशित मिति :  21 October, 2024 4:18 pm


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबहालीको १०० दिनको अवसरमा प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्। मन्त्री अधिकारीले आज (साेमबार) आयोजित पत्रकार भेटघाटमा मन्त्रालयले कृषि र पशुपन्छी क्षेत्रमा नीतिगत सुधारसहित उल्लेख्य प्रगति हासिल गरेको जानकारी गराए।

मन्त्री अधिकारीका अनुसार कृषि तथा पशुपन्छी क्षेत्रमा असोज १० देखि १२ गतेसम्मको अविरल वर्षा र बाढीका कारण करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। पाक्न लागेको धान बाली, माछापोखरी, फलफूल बगैंचा र पशुपन्छीमा क्षति पुगेको उल्लेख गर्दै उनले प्रभावित किसानलाई राहत उपलब्ध गराउने काम भइरहेको जानकारी दिए ।

मन्त्रालयले रासायनिक मलको आपूर्ति र बिक्रीमा सुधार गरेको बताउँदै अधिकारीले एक लाख २९ हजार मेट्रिक टन मल किसानहरूलाई वितरण गरिसकिएको बताए । किसानलाई मलको सहज उपलब्धताका लागि टोल-फ्री नम्बर ‘किसान कल सेन्टर’ सञ्चालनमा ल्याइएको समेत जानकारी दिए ।

मन्त्री अधिकारीले बाली तथा पशुधन बिमालाई थप प्रभावकारी बनाउँदै किसानलाई बिमाको प्रिमियममा अनुदान दिने कार्यविधि स्वीकृत भएको र यस अवधिमा ५० लाख पशुपन्छीलाई खोप वितरण गरिएको जानकारी पनि गराए। साथै,दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि नेपाल सरकारले दुग्ध विकास संस्थान (डिडीसी) लाई ६० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरिसकेको अधिकारीले बताए ।

मन्त्रालयका अनुसार उखु उत्पादक किसानहरूलाई उपलब्ध गराइने प्रोत्साहन अनुदान यस वर्ष समयमै भुक्तानी भइरहेको छ। विगतमा आर्थिक वर्षको दोश्रो वा तेश्रो त्रैमासिक अवधिमा भुक्तानी हुने प्रोत्साहन अनुदान यस वर्ष पहिलो त्रैमासिक अवधिमै किसानहरूले प्राप्त गर्ने मन्त्री अधिकारीले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा उखु उत्पादन गरी क्रसिङ्ग गरेवापतको १ अर्ब ४५ करोड ३२ लाख २१ हजार बराबरको प्रोत्साहन अनुदान रकम भुक्तानी गर्न उखु उत्पादन हुने प्रमुख ८ वटा जिल्लाका (कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरी) कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाई वितरण भइरहेको मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार यस अवधिमा प्रयोगशाला सुविधासहितका १३ वटा एकीकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र हस्तान्तरण गरिएको छ भने खाद्य वस्तुको स्वच्छता र गुणस्तर कायम राख्न मोबाइल भ्यानमार्फत नियमित बजार अनुगमन सञ्चालनमा ल्याइएको छ।

मन्त्री अधिकारीले आगामी दिनमा कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहज मल, बीउ र बजारको उपलब्धता सुनिश्चित गर्न, र युवालाई कृषि पेसामा आकर्षित गर्ने कार्यलाई प्राथमिकतामा राखिने प्रतिवद्धता व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !