६ कार्तिक २०८१, मंगलबार

नेपाललाई सम्पन्न बनाउनुपर्ने दायित्व हामी सबैको होः रक्षामन्त्री राई

प्रकाशित मिति :  22 October, 2024 4:42 pm


काठमाडाैँ । रक्षामन्त्री मानवीर राईले नेपाललाई राष्ट्र र राष्ट्रियता, विकासको हिसावले सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

मंगलवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवधिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको संविधान, नियम कानूनका आधारमा मन्त्रालयले काम गरिरहेको र यसलाई अझ सशक्त र थप प्रभावकारी बनाउने गरी अघि बढ्ने बताएका हुन् ।

उनले नेपाललाई संसारमा हेर्न लायक बनाउने गरी काम गरिरहेको बताए । उनले राष्ट्र र राष्ट्रियता, विकास निर्माण, शान्ति सुरक्षाका हिसावले सबल र सक्षम बनाउने दायित्व आफूहरूको भएको बताए । उनले सबैलै आफ्नो आफ्नो क्षेत्रमा मुलुकको हितका लागि काम गर्नुपर्ने बताए ।

उनले भने,”अहिलेको हाम्रो संविधान, नियम कानूनका आधारमा हाम्रा गतिविधिहरु यो मन्त्रालयअन्तर्गत सबै भइरहेका छन् । यसलाई अझ सशक्त कसरी बनाउने, साँच्चै यो मुलुक संसारमा हेर्न लायक, राष्ट्र र राष्ट्रियता, विकासको हिसावले, शान्ति सुरक्षाका हिसावले सबै हिसावले कसरी सबल र सक्षम हामी बनाउने, बन्ने भन्नेकुरा हामी सबैको दायित्व हो । यसमा सबैलै आफ्नो आफ्नो क्षेत्रमा मुलुकको चौथो अंगको रूपमा मुलुकको राष्ट्र\राष्ट्रियताको संरक्षण र संवद्र्धनको लागि सदैव लागि रहनुपर्छ । त्यसका लागि पत्रकार मित्रहरुको ठूलो भुमिका हुन्छ ।”

मन्त्री राईले सबैको एकताले नै मुलुकको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता मजबुत बन्ने बताउनु भयो । मन्त्रालयले सय दिनमा राज्य सुरक्षा नीति, २०७५ र सोको प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको एकीकृत परियोजना र रक्षा मन्त्रालय र नेपाली सेनाले जिम्मेवारी तोकिएको कार्यलाई प्राथमिकतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

राष्ट्रिय सेवा दलको नयाँ विधेयकको मस्यौदा तर्जुमा गरिएको, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विधेयकको मस्यौदाउपर विभिन्न मन्त्रालयबाट प्राप्त राय\सुझावलाई सम्बोधन गरी मस्यौदा पुनरावालोकन र परिमार्जन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । नेपाली सेना भर्ना छनौट काईविधिको मस्यौदा तयार गरिएको बताएको छ । 



प्रतिक्रिया दिनुहोस !