६ कार्तिक २०८१, मंगलबार

विचाराधिन विधेयकहरूलाई संसदको आगामी अधिवेशन अगावै समितिबाट पारित गर्न सभामुखको निर्देशन

प्रकाशित मिति :  22 October, 2024 4:55 pm


काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरूमा विचाराधिन रहेका विधेयकहरूलाई संसदको आगामी अधिवेशन अगावै पारित गर्न निर्देशन दिएका छन् ।

मङ्गलवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा दलका प्रमुख सचेतक, सचेतक तथा समिति सभापतिहरूसँग छलफल गर्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरूलाई आगामी अधिवेशन अगावै पारित गर्न निर्देशन दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सभामुखले समितिमा रहेका विधेयकहरू आगाी अधिवेशनमा अनिवार्य रुपमा सदनमा पेश गर्न निर्देशन दिएकाे जानकारी दिए ।

छलफलमा समिति सभापतिहरूले सांसदहरूको बैठकमा अनुपस्थिति भएका कारण कोरम पुग्नै समस्या परिरहेको भन्दै सहजीकरणका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई आग्रह गरेकाे उनले बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले समिति बैठकमा कोरम नपुग्दा सम्बन्धित समितिले आग्रह गरे बमोजिम दलहरुले सहजीकरण गरिदिने प्रतिवद्धता व्यक्त गरिएको बताए। उनले सबै सांसदहरुलाई संसदीय समितिको काममा केन्द्रित हुन भुमिका खेल्ने र विधेयकहरुलाई अगाडी बढाइने बताए ।

त्यस्तैगरी, बैठकले विभिन्न ४४ देशका संसदसँग भएको ‘पार्लियामेन्ट्री फ्रेन्ड्ससिप ग्रुप’का लागि संयोजक तोक्न दलहरुका बिचमा भागबन्डा गरिएको पनि जानकारी दिए ।नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले समिति बैठकमा अनुपस्थित हुने सांसदहरूको बारेमा ठोस रूपमा जानकारी गराउन संसद सचिवालयलाई आग्रह गरिएको बताए ।उनले समिति बैठकमा कोरम पु¥याउनका लागि दलको तर्फबाट पहलकदमी लिने पनि बताए ।

बैठकमा बोल्दै अर्थ समितिका सभापति सन्तोष चालिसेले अब समिति बैठक नरोक्ने गरी अघि बढ्ने बताए । विधेयकहरूलाई चाँडोभन्दा चाँडो पारित गर्ने छलफलको निष्कर्ष रहेको बताए । सभामुखले बोलाएको छलफलमा दलका प्रमुख सचेतक,सचेतक,समिति सभापतिहरुको अलावा उपसभामुख, कानून, न्याय तथा संसदीय मामिला मन्त्री, संघीय संसद सचिवालयका महासचिव लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !