६ कार्तिक २०८१, मंगलबार

संघीय निजामती विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छः मन्त्री गुप्ता

प्रकाशित मिति :  22 October, 2024 5:17 pm


काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संसदमा विचाराधिन संघीय निजामती सेवा विधेयक छिट्टै पारित गर्ने बताएका छन् ।

मंगलवार अपरान्ह सिंहदरबारमा पत्रकार सम्मेलनगरी आफ्नो सय दिनको कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले सो आश्वासन दिएका हुन् । सो ऐनलाई छिट्टै पारित गर्नका लागि राजनीतिक दलका नेतृत्वसँग पुनः छलफललाई तिब्रता दिइएको र सकारात्मक सहयोग पनि पाइएको उल्लेख गर्दै मन्त्री गुप्ताले सो विधेयक छिट्टै ल्याउने आश्वासन दिए ।

उनले सो विधेयक संसदका आगामी अधिवेशनमा पारित गर्ने तयारीमा आफू रहेको पनि बताए । मन्त्री गुप्ताले सो विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि दोहोर्‍याए । संसदका आगामी अधिवेशनबाट पारित हुने बताए । उनले संविधान र स्थानीय सरकार संचालन ऐन संशोधनका लागि अर्थ मन्त्रालयमा राय लिने काम सकिएको र कानून मन्त्रालयका स्विकृति पाएपछि त्यसलाई पनि अघि बढाउने बताए ।

मन्त्री गुप्ताले कर्मचारी सरुवा मापदण्ड लागू गर्ने काममा पनि ढिलाई नहुने बताए । उनले सो मापदण्डको मस्यौदा सुझावका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको र त्यसको आउने बित्तिकै लागूगर्ने काम सरकारले गर्ने बताए । मन्त्री गुप्ताले आफूले निजामती कर्मचारी अस्पताल क्यान्सर रोगको उपचारको थालनी गरेको, निजामती कर्मचारीहरूको अभिलेख डिजिटलाईज गरिएको, प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको ठाउँमा वरिष्ठ कर्मचारीलाई निमित्त दिने व्यवस्था गरेकोलगायतका २५ बुँदे कामहरूको पनि वितरण सार्वजनिक गरे ।

स्थानीय तहमा वडाको केन्द्र र सीमाना हेरफेर सहज तरिकाले सहजीकरण गर्नका लागि आवश्यक कार्यविधिको पनि मस्यौदा तयार परिएको मन्त्री गुप्ताको सय दिनको मुख्य उपलब्धिको रुपमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !