६ कार्तिक २०८१, मंगलबार

काठमाडौँमा अब वर्षायाममा पनि मेलम्चीको पानी आउने व्यवस्था हुन्छः मन्त्री यादव

प्रकाशित मिति :  22 October, 2024 6:20 pm


काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरू गरेको बताएका छन् ।

सो पानीको मुहानमा नयाँ हेडवक्स निर्माण कार्य सुरू गरेर सरकारले वर्षायाममा मेलम्ची खानेपानी काठमाडौं नआउने अवस्था अन्त्य गर्ने कामको शुरुवात गरेको मन्त्री यादवले बताएका हुन् । मंगलबार अपरान्ह सिंहदरबारमा आफूले सम्पादन गरेका सय दिनको मुख्यमुख्य कार्यहरु सार्वजनिक गर्नेक्रममा उनले सो पानी वर्षातमा पनि वितरण हुनेगरी नयाँ हेडवक्स निर्माण कार्य सुरू गरिएको बताए ।

मन्त्री यादवले आफूले गत वर्ष माघ मात्रै ल्याउन सफल भएको मेलम्चीको पानी यस वर्ष दशैँ अगावै ल्याउने काममा सफलता हात पारेको दावी समेत गरे । मन्त्री यादवले मन्त्रालयले सुन्दरीजलमा दैनिक २२ करोड ५० लाख लिटरको नयाँ पानी प्रशोधन केन्द्रको निर्माणको काम पनि अघि बढाएको बताए । 

मन्त्री यादवले स्रोत, साधन र जनशक्तिको अभावमा खानेपानी व्यवस्थापनको काम चुस्त हुन नसकेको तथ्य स्मरण गराउँदै आम नागरिकलाई स्वच्छ पानी खुवाउने काममा सरकार प्रतिवद्ध भएर लागि परेको बताए । उनले विपद्ले अवरुद्ध पारेका पानेपानी सुचारु गराउने काममा पनि आफू लागि परेको बताए ।



प्रतिक्रिया दिनुहोस !