७ कार्तिक २०८१, बुधबार

जनताबाट उठाएको करबाट सेवा सुविधा लिन्न भनेर निर्णय उल्टाएँः मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  23 October, 2024 1:09 pm


बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताएका छन् ।

सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले त्यागको भावना बोकेर वर्तमान सरकार अघि बढेको बताएका हुन् ।

साथै उनले भ्रष्टाचार नियन्त्रण सम्बन्धि पाँचवर्षे रणनीतिक योजनालाई कडाई पूर्वक कार्यान्वयन गरिने समेत बताए । ‘‘सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न आँट गर्न सक्नुपर्छ । त्यसको सुरुवात गरेका छौं’’, उनले भने, ‘‘एक पटक मुख्यमन्त्री भएपछि, एक पटक सभामुख भएपछि पूर्व विशिष्टको नाममा सेवा सुविधा दिने निर्णय थियो । म आइसकेपछि त्यो निर्णय उल्टायौं । त्यागको भावना बोकेर यो सरकार अगाडि आएको छ । जनताबाट उठाएको करबाट सेवा सुविधा लिन्न भनेर निर्णय उल्टाएँ ।’’

प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडि बढेको बताउँदै मुख्यमन्त्री र मन्त्रीहरुलाई आचारसंहिता लागु गरेर नयाँ सुरुवात गरेको समेत स्पष्ट पारे । ‘‘मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लागु ग¥यौं । सुरुवात लुम्बिनीबाट भयो । यो कामले नयाँ सन्देश दिएको छ’’, उनले भने, ‘‘फजुल खर्चलाई नियन्त्रण गर्न यस प्रकारको आचारसंहिताले नियन्त्रण गर्दछ ।’’

सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न मुख्यमन्त्री तहबाट थालनी गरिएको बताए । ‘‘मैले दसैँ विदामा गाडी प्रयोग गर्न हुँदैन भनेर चढिनँ । मैले त्यो गरिरहँदा त्यहाँका जनप्रतिनिधिहरुलाई प्रेसर सिर्जना भयो । विवाह भोजमा सेतो नम्वर प्लेटका गाडी दौडाउन अलिकति नैतिक संकट बन्छ नि’’, उनले भने,‘‘एउटा व्यक्तिबाट सुरु गरेर सुशासन कायम गर्न सकिन्छ, सुधार्न सकिन्छ । म जनप्रतिनिधि साथीहरुलाई भन्न चाहन्छु व्यक्तिगत निमन्त्रणमा सरकारी गाडी न कुदाउनुस् ।’’

पाँचवर्षे रणनीतिक योजनामा सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र निर्माण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै भ्रष्टाचार नियन्त्रणका लागि नैतिकता तथा सदाचारिता प्रवद्र्धनलाई पनि जोड दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !