७ कार्तिक २०८१, बुधबार

लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम शुरु गरेको छः मन्त्री ढकाल

प्रकाशित मिति :  23 October, 2024 2:47 pm


रुपन्देही । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

बुधवार बुटवलमा आयोजित व्यापार तथा लगानीमा प्रदेश स्तरका सरोकारवालाहरुसँगको एक दिने छलफल कार्यक्रममा बोल्दै मन्त्री ढकालले देशभित्रका राष्ट्रिय पुँजीलाई कसरी प्रदेश र लगानीको क्षेत्रमा केन्द्रित गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

उनले लुम्बिनी सरकारले निजी क्षेत्रको लगानीलाई व्यवस्थित गर्नेबारेमा पनि आवश्यक योजना बनाइरहेको बताए । उनले निजी क्षेत्रले गरेको लगानीको व्यवस्थापनका बारेमा सरकारले आवश्यक काम अघि बढाएको जिकिर गरे ।

मन्त्री ढकालले निजी क्षेत्र र सरकारको बीचमा लगानीको सन्दर्भमा देखिएका कमजोरीहरु समाधान गर्न सरकार तयार रहेको बताए । उनले वाह्य पुँजीलाई आकर्षित गर्नेगरी सरकारले काम गरिरहेको पनि बताए । प्रदेश सरकार निजी क्षेत्रलाई साथमा लिएर प्रदेशको विकासलाई अघि बढाउने काममा केन्द्रित रहेको बताए ।

मन्त्री ढकालले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताए । उनले लुम्बिनी प्रदेशमा तीन औद्योगिक ग्राम स्थापना गरेको भएपनि कार्यान्वनय गर्न नसकेको बताए । भैरहवा विमानस्थललाई नियमित सञ्चालन गर्ने विषयमा संघ र प्रदेश सरकारले मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।



प्रतिक्रिया दिनुहोस !