८ कार्तिक २०८१, बिहिबार

रात्रीबसको ठक्करले हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु, स्थानीयले ताेडफाेड गरे बस

प्रकाशित मिति :  24 October, 2024 8:31 am


झापा । झापामा रात्रीबसको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १-०१-००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्री बसले इ-साइकल यात्रीलाई ठक्कर दिँदा बुधबार अपरान्ह दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिकाको केर्खा बजारमा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं. ३ सानो केर्खाको ६० बर्षीय टेकबहादुर लिम्बु र उहाँको नातिनी ११ बर्षीय कृपा लिम्बु रहेको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

दुर्घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । स्थानीयले ठक्कर दिने बसमा तोडफोड र सडक नजिक रहेको ट्राफिक प्रहरीको बिट समेत लडाएर आगजनी गरेका गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक हजुरबुबाले नातिनीका लागि जन्मदिन मनाउन केक र मासु लिएर फर्कँदै गर्दा दुघर्टना भएको स्थानीय बासिन्दाले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !