८ कार्तिक २०८१, बिहिबार

उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँः स्वास्थ्यमन्त्री पौडेल

प्रकाशित मिति :  24 October, 2024 1:05 pm


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपलब्ध स्वास्थ्य जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई बिहीवार फेलोसिप कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएकोबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा स्वास्थ्य जनशक्ति अपुग रहेको भन्दै उपलब्ध जनशक्तिलाई थप दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउने विकल्प आफूसँग रहेको बताएका हुन् ।

उनले उपलब्ध चिकित्सकीय जनशक्तिलाई थप तालिमहरु दिएर विभिन्न सेवा उपलब्ध गराउनसक्ने क्षमता वृद्धि गर्न जरुरी रहेको बताए । उनले प्रत्यारोपणको क्षेत्रमा मात्रै नभइ अन्य क्षेत्रमा पनि उपलब्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र बिस्तार गर्न आवश्यक रहेको उल्लेख गरे ।

“मानव अंग प्रत्यारोपण केन्द्रमा यो फेलोसिप कार्यक्रम सञ्चालन हुने भएको छ । यो मलाई लाग्छ समग्र स्वास्थ्य क्षेत्रको उपलब्धि हो । हाम्रो स्वास्थ्य जनशक्ति अपुग छ भन्नेकुरा हामी सबैलाई जानकारी छ । हामीसँग उपलब्ध जनशक्तिलाई थप दक्ष बनाइ हामीले स्वास्थ्य सेवा प्रभावकारी बनाउने विकल्प हामीसँग छैन,” उनले भने ।

फेलोसिप कार्यक्रमलाई सातै प्रदेशमा बिस्तार गर्ने सरकारको योजना रहेको बताए । नेपाल मेडिकल काउन्सिलले किड्नी ट्रान्सप्लान्ट सर्जरी र रिनल ट्रान्सप्लान्ट मेडिसाइन गरी दुई क्लिनिकल फेलोसिपहरु एक वर्षका लागि अनुमति दिएको हो ।



प्रतिक्रिया दिनुहोस !