८ कार्तिक २०८१, बिहिबार

१७ औं गोदावरी पुष्प प्रदर्शनी आजदेखि सुरू, ४० हजारले अवलोकन गर्ने अपेक्षा

प्रकाशित मिति :  24 October, 2024 1:35 pm


काठमाडौँ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आजदेखि सुरू भएकाे छ । कार्तिक ८ (आज) देखि ११ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा सुरू भएकाे हाे ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गरिएकाे आयोजक फ्लोरीकल्चर एसोसिएशन नेपालले जनाएको छ ।

नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएकाे फ्लाेरीकल्चर एसाेसिएसन नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताए ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराइएकाे छ ।

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबिच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको आयाेजकले जनाएकाे छ । हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने अपेक्षा आयोजकको छ ।

४ दिने यस गाेदावरी फूलकाे प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलाेकन गर्ने साथै एक कराेडभन्दा बढीकाे व्यवसायीक काराेबार हुने आयाेजककाे अपेक्षा छ । साथै फ्यानकाे आयाेजनमा र लाइन्स क्लब अफ ग्लाेबल फ्लाेरिकल्चरसँगकाे सहकार्यमा मेला अवधिभित्र रक्तदान कार्यक्रमकाे समेत आयाेजना गरिएकाे फ्यानले जनाएकाे छ । पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबिच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको फ्यानका तदर्थ समितिका अध्यक्ष सूरेशभक्त श्रेष्ठले बताए ।

कुनै समय नेपालमा सौखका रूपमा मात्रै प्रयाेग गरिने फूल खेती पछिल्लो समय व्यवसायिक ढंगले फस्टाउँदै गएको छ। फूल खेतीबाट आत्मनिर्भर बन्न सकिने सम्भावनाले नयाँ व्यवसायीहरू यस क्षेत्रमा आकर्षित भइरहेका छन्। व्यवसायिक फुल खेतीतर्फको यो रुचि र लगानीले यस उद्योगलाई थप विस्तार गर्ने संकेत गरेको छ।नेपालमा वि.स २०११ बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ ।

हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढी जशक्तिहरू रोजगार रहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले उपल्बध गराएको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पुष्पा व्यवसाय फस्टाउँदै गएको देखाएको छ ।

आर्थिक वर्ष २०७५\७६ मा पुष्पको बार्षिक कारोबार रु.२ अर्व ४२ करोड रहेकोमा आर्थिक वर्ष ०७७\७८ मा बर्षे भरी कोभिड महामारीको कारण पुष्पको ब्यवसायिक कारोबारमा कमी आई जम्मा रु.१ अर्व ६३ करोड मा खुम्चिएको थियो भने आर्थिक वर्ष २०७८\०८९ मा कोभिडको असर केहि कम हुदा पुष्पको बार्षिक कारोबारमा केहि बृद्धि भएको थियो ।

त्यस्तै गत आथिक बर्ष ०७९\८० मा रु.३ अर्व ७ करोड भन्दा बढीको कारोबार भएकोमा अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०८०\८१ मा १९.८६ प्रतिशतले वृद्धि भई रु.३ अर्व ६८ करोड भन्दा बढीको कारोबार भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार यसै आर्थिक बर्ष ०८०\८१ मा पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक निर्यात् कारोबार रु.१ करोड ०२ लाख १२ हजार भएको छ भने आयात तर्फ रु. २७ करोड ७९ लाख ०५ हजारको कारोबार रहेको छ।



प्रतिक्रिया दिनुहोस !