८ कार्तिक २०८१, बिहिबार

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाएका छौँः वनमन्त्री ठकुरी

प्रकाशित मिति :  24 October, 2024 5:04 pm


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाइएको बताएका छन् ।

बिहीवार मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिसकेको र रातो बाँदरको हकमा प्रतिवेदन तयार भइ स्वीकृतिको क्रममा रहेको बताएका हुन् ।

उनले कार्बन व्यापारमा निजी क्षेत्रसमेत समावेश गर्नेगरी वातावरण संरक्षण नियमावली, २०७७ संशोधनको अन्तिम चरणमा रहेको बताए । उनले राष्ट्रिय बाँस तथा बेत विकास रणनीति, २०८१ तयार भएको, वाह्य मिचाहा प्रजाति नियन्त्रण रणनीति, २०८१ तयार भएको, दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने विषय सम्पन्न भएको बताए । उनले दिगो वन व्यवस्थापनको मापदण्ड तयार गरिएको पनि जानकारी दिए ।

मन्त्री ठकुरीले सय दिनको अवधिमा वन विकास कोषमा ६ करोड ५९ लाख ११ हजार २०४.४५ रुपैयाँ जम्मा भएको बताए ।



प्रतिक्रिया दिनुहोस !